मेलम्चीको परीक्षण वितरण छिट्टै

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

मेलम्ची खानेपानी आयोजनाले आगामी दसैंअगावै आफ्नो परीक्षण वितरण सुरु गर्ने भएको छ । सो आयोजनाअन्तर्गत‘वाटर ट्रिटमेन्ट प्लान्ट’ का उपप्रमुख प्रकाशरुद्र श्रेष्ठले परियोजनाले परीक्षणका रूपमा साउनको तेस्रो सातादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने बताए ।

साउनको दोस्रो सातापछि वर्षातमा बढेको बाग्मतीको पानीलाई परीक्षणका रूपमा प्लान्टमा ल्याई खानेपानीका रूपमा वितरण सुरु गरिने जानकारी उनले दिए । त्यसरी पठाइएको बग्मतीको पानी पूर्ण रूपमा खानयोग्य हुने उनको भनाइ छ ।

हाल ८० देखि ९० प्रतिशत ठाउँमा नयाँ पाइप बिछ्याउने काम सकिएको आयोजनाले जनाएको छ । श्रेष्ठले भने, ‘चन्द्र शमशेरका पालादेखिका जीर्ण पाइप हटाएर अहिले सबै ठाउँमा नयाँ पाइप राख्ने काम पूरा गरिएको छ ।’

सुरुका केही दिन पाइपमा लागेको फोहोरका कारण पानी केही फोहर भए पनि केही दिनमै त्यो पूर्ण सफा र खानयोग्य हुने उनले बताए । मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै सुरुङमार्फत आउने पानी सुचारु भएपछि बाग्मतीको पानीको ठाउँमा असोज दोस्रो सातापछि मेलम्चीको पानी पठाउन सुरु गरिने लक्ष्य लिइएको छ ।

पहिलो चरणमा असोजको दोस्रो साताभित्र मेलम्चीको पानीलाई वितरण गर्ने लक्ष्य लिइएको छ । जसमार्फत पहिलो चरणअन्तर्गत सुरुमा ८ करोड लिटर र केही समयपछि दैनिक १७ करोड लिटर पानी राजधानीवासीले उपभोग गर्न पाउनेछन् । परियोजनाअन्तर्गत तीन चरणमा मेलम्ची आयोजना पूरा गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा मेलम्चीको पानी ल्याएर दैनिक १७ करोड लिटर राजधानीवासीलाई वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा यारी र लार्के नदीसमेतको पानी ल्याएर दैनिक ५१ लिटर पानी वितरण गर्ने लक्ष्य लिइएको छ ।

परियोजनाअन्तर्गत साढे ३ अर्बको बजेट ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ का लागि छुट्ट्याइएको छ । जसमा ७० प्रतिशत जापानी सहयोग नियोग (जाइका) को ७० प्रतिशत सहुलियत ऋण र बाँकी नेपाल सरकारको लगानी छ ।