१० वर्षभित्र १० लाख रोजगारी

राजधानी समाचारदाता

काठमाडौं, ७ वैशाख

उद्योग मन्त्रालयले औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महŒवाकांक्षी योजना सार्वजनिक गरेको छ । मन्त्रालयले विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो ।

सार्वजनिक योजनाअनुसार १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीसाथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए ।

साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्ने र संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको उनले बताए । लगानीकर्तालाई कानुनी रूपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाए ।

मन्त्रालयका सचिव शंकरप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतिगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव संकलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का प्रतिनिधि थिए । उनीहरूले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरूप एकल बिन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिए ।

मन्त्रालयले नेपालमा औद्योगीकरणका लागि विदेशी लगानी भिœयाउने उद्देश्यले गत २२ र २३ फागुनमा लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विदेशी लगानीकर्ताले १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । यसका लागि आगामी दिनमा निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि छलफल गरिने मन्त्रालयले जनाएको छ ।