दिल्लीको खराब प्रदर्शनमा पन्जाबको सहज जित


पन्जाब/एजेन्सी– दिल्ली डेरडेभिल्स र किंग्स इलेभेन पन्जाबबीच आइतबार भएको खेलमा पन्जाबले कम स्कोरमा समेटिएको दिल्लीमाथि १० विकेटको सहज जित हासिल गरेको छ ।

टस जितेको पन्जाबले पाहुना टोली दिल्लीलाई पहिले ब्याटिङका लागि मौका दिएको थियो । यस्तोमा दिल्ली निकै खराब ब्याटिङको सिकार भयो । उसले १७ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदा ६७ रन मात्र जोडेको थियो । उसका लागि कोरी एन्डरसनको १८ रन सर्वाधिक रह्यो । त्यस्तै, दोहोरो रनका रूपमा करुण नायर र कागिसो रबडाले ११–११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । पन्जाबका लागि सन्दीप शर्माले ४ विकेट लिए । त्यस्तै, अक्षर पटेल र भरण अरुणका नाममा २–२ विकेट रह्यो भने मोहित शर्मा र ग्लेन म्याक्सवेलले १–१ विकेट लिएका थिए ।

६८ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको पन्जाबले मार्टिन गुप्टिलको विष्फोटक इनिङमा ७ ओभर ५ बलमा नै लक्ष्य पूरा गरेको थियो । गुप्टिलले ५० रनको अर्धशतकीय पारी खेल्दा हासिम अम्ला १६ रनमा अविजित रहे ।