इरानी पत्रकारको टर्कीमा गोली हानी हत्या


इस्तानबुल/एजेनसी– इरानका फारसी भाषाको मुख्य प्रसारक जेम टिभी कम्पनीका संस्थापक तथा अध्यक्ष सइद करिमिअनको टर्कीको इस्तानबुलमा गोली हानी हत्या गरिएको छ ।

इस्तानबुलको मसलकमा सइद र उनका कुवेती व्यापारिक साझेदारलाई गोली हानिएको हो । उनको हत्या र गोली प्रहारमा प्रयोग भएको गाडी जलेको अवस्थामा फेला परेको थियो ।

टर्की प्रहरीले यस हत्याकाण्डको छानविन सुरु गरेको छ । यसअघि करिमिआनमाथि तेहरानको एक अदालतमा मुद्धा चलेको थियो । उनीमाथि इरानविरुद्ध दुष्प्रचार फैलाएको भन्दै ६ वर्षका जेल सजाय सुनाइएको थियो ।

जेम टिभी विदेशी र पश्चिमी टेलिभिजन कार्यक्रमको डबिङ गरेर त्यसलाई इरानी भाषामा प्रशारण गर्ने गर्दछ । सुरुमा यो जेम टिभी लण्डनमा स्थापित गरिएको भएपनि पनि यसको प्रशारण दुबईसम्म भएको थियो ।

यो समूहको वेबसाइटका अनुसार इरानी भाषामा यसका १७ वटा टिभी च्यालन रहेका छन् । यसका साथै एक च्यानल कुर्दिश, अजेरी र अरबी भाषामा समेत छ ।