भारतद्वारा दक्षिण एसियाली भू–उपग्रहको प्रक्षेपण

विधुर ढकाल/राजधानी
काठमाडौं, २२ वैशाख

भारतले दक्षिण एसियाली भू–उपग्रहको प्रक्षेपण गरको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वर्ष अगाडि घोषणा गरेअनुरुप उसले भू–उपग्रहको प्रक्षेपण गर्दै औपचारिक रुपमा सुरुवात गरेको हो ।

भू–उपग्रह दूरसञ्चार, दैवीप्रकोप, टेलिएजुकेसन, टेलिमेडिसिन र दैवीप्रकोप व्यवस्थापनमा सहयोगी हुने भारतले दाबी गरेको छ । शुक्रबार साँझे ५ बजे भारतले यसको सुरुवात गरेको हो । भू–उपग्रहको सुरुवातसँगै भारतीय प्रधानमन्त्री मोदीले दक्षिण एसियाका ६ देशका राष्ट्राध्यक्षहरुलाई कन्फ्रेन्स कल गरी यसबारेमा जानकारी गराएका हुन् ।

चेन्नाईदेखि १ सय ३५ किलोमिटरको दूरीमा रहेको श्रीहरिकोटास्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट भू–उपग्रहको प्रक्षेपण गरिएको हो । भू–उपग्रहको प्रक्षेपणबाट दक्षिण एसियाली देशहरुबीचको सम्बन्धमा नयाँ आयाम थपिएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।

काठमाडौंमा भएको सार्क सम्मेलनमा मोदीले दक्षिण एसियाली भू–उपग्रह बनाउने घोषणा गरेका थिए । सुरुमा यसलाई सार्क स्याटलाइट भनिएको थियो । तर यस भू–उपग्रहमा पाकिस्तानले सहभागी नहुने बताएपछि यसको नाम दक्षिण एसियाली भू–उपग्रह राखिएको हो ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहालले भूउपग्रहको शुभारम्भ गरेको भन्दै भारतीय प्रधानमन्त्री तथा भारतीय जनतालाई बधाई दिएका छन् । भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री दाहालले एसियाली देशको विकासमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले यसको सुरुवातसँगै दक्षिण एसियाली क्षेत्र अन्तरिक्ष प्रविधिमा आत्मनिर्भर भएको समेत बताएका छन् । ‘प्रधानमन्त्री दाहालले यसले दक्षिण एसियाली देशहरुलाई एक आपसमा जोड्दै यस क्षेत्रका जनताको जीवनस्तरमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको छ’, प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘खासगरी दूरस्वास्थ्य सेवा, दूरशिक्षा, सूचना प्रविधि मौसम विज्ञान, दैविक प्रकोप व्यवस्थापन, र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा भूउपग्रह प्रणालीको स्थापनाबाट महत्त्वपूर्ण योगदान पुग्ने छ ।’

हिमाली र दुर्गम क्षेत्रमा सञ्चार प्रणालीको विस्तारमा समेत यसले सघाउने भन्दै यो सुविधाको अधिकतम लाभ हासिल गर्न पहल गर्ने प्रधानमन्त्री दाहालले भिडियो कन्फ्रेन्सका क्रममा बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यो भू–उपग्रहबाट नेपाल, भुटान, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानले फाइदा लिने छन् । २२३० किलो क्षमताको रहेको यो भूउपग्रहको निमार्णका लागि चार अर्ब ५० करोड भारतीय रुपैयाँ खर्च भएको भारतको स्पेस एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्मयले जनाएका छन् ।

यसैबीच भू–उपग्रह नेपालको विकासको महत्वपूर्ण माध्यम बन्ने भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासले शुक्रबार नै विज्ञप्ति जारी गर्दै भूउपग्रहले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग गर्ने जनाउँदै त्यसका लागि भारतीय सरकार तथा भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएको छ ।

जीसैट–९ भारतका तर्फबाट दक्षिण एसियाली छिमेकी देशहरुलाई उपहार भएको भारतीय प्रधानमन्त्रीले जनाएका छन् । यो भूउपग्रहलाई जीएसएलवी–एफ०९ ले अन्तरिक्षमा पु¥याएको छ । यो उपग्रहको आयु १२ वर्ष रहेको समेत बताइएको छ ।

मोदी भारतीय सत्तामा आउन साथ भारतीय अन्तरिक्ष संस्थानलाई उनले भूउपग्रह बनाउन आग्रह गरेका थिए । गत आइतबार प्रधानमन्त्री मोदीले ‘मनकी बात’ रेडियो कार्यक्रममा दक्षिण एसियाली उपग्रह आफ्ना छिमेकी देशका लागि भारतका तर्फबाट उपहार भएको बताएका थिए । उनले उपग्रह शुक्रबार प्रक्षेपण गरिने बताएका थिए ।

यसैबीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भू–उपग्रहको प्रक्षेपणले यस क्षेत्रका देशबीचको सम्बन्धलाई थप मजबुद बनाएको बताएकी छन् । ‘यसले मानिसहरुलाई एकापसमा जोड्न सकिने छ, अब हाम्रो सम्बन्ध जल, जमिन र आकासमा समेत बढेको छ,’ बंगलादेशी प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।

भूटानका प्रधानमन्त्री सिरिङ तोब्गेले यसले यस क्षेत्रको सञ्चारको विकासका लागि भू–उपग्रहले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।