माओवादीले औपचारिक रुपमा भन्यो : उस्तै प-यो भने हामी कहीँ पनि जित्दैनौं

राजधानी समाचारदाता
काठमाडौं, २८ वैशाख

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले आइतबार हुने स्थानीय तहको निर्वाचनमा मतदाताले एजेण्डा र विचारलाई रोजेमा कांग्रेस र एमाले भन्दा बढी स्थानमा जित हासिल गर्न सकिने आँकलन गरेको छ ।

आफ्नो पार्टीको नेतृत्वमा १६ घण्टाको लोडसेडिङ शुन्यमा झार्न सफल भएको, १० प्रतिशतमाथिको मूल्यवृद्धि साढे तीन प्रतिशतमा झारेको, अघिल्लो वर्ष शुन्य दशमलवमा रहेको आर्थिक वृद्धिदर नेपालको इतिहासमा नै पहिलो पटक ७ प्रतिशत पु-याउन सफल भएको भन्दै माओवादीले सो आँकलन गरेको हो ।

माओवादी हेडक्वार्टर सदस्य समेत रहेका चुनाव आयोजक समिति सदस्य देव गुरुङले माओवादीले बन्द रहेका सरकारी उद्योग कलकारखाना तथा संस्थानहरु खुलाएको, राष्ट्रिय गौरवका आयोजना अघि बढाएको तथा स्थानीय तहको एजेण्डा समेत आफ्नै पार्टीको भएकाले जनताले यी कुरा बुझेर मतदाताले भोट हाले कांग्रेस एमाले भन्दा बढी संख्यामा जित्न सकिने बताए ।

उसले मतदाताले विचार र एजेण्डालाई भुलेर लोभ लालच तथा पैसा र प्रलोभनमा परेको खण्डमा भने कुनै ठाउँमा पनि जित्न नसकिने अनुमान समेत छ । ‘जनताले एजेण्डा रोजे भने अधिकांश ठाउँमा माओवादी केन्द्रले जित्ने निश्चित छ, तर संसदीय व्यवस्थामा सबै विचार र एजेण्डाले मात्र काम गर्छ भन्न सकिन्न, पद पैसा, लोभ लालच हाबी भयो भने एउटा पनि नजित्न पनि सकिन्छ,’ गुरुङले राजधानीसँग भने ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पार्टीकै एजेण्डा अनुसार संविधान बनाएको र अहिले सिंहदरबारको अधिकार गाउँ गाउँमा माओवादीले नै पु-याएको भन्दै निर्वाचनमा पार्टीले धेरै ठाउँमा जित हासिल गर्ने बताइन् । ‘इतिहासमा लेखिने गरी पार्टी नेतृत्वको सरकारले लोडसेडिङ हटाएको छ, विकास निर्माणका काम अहिले तिब्र गतिमा अघि बढेका छन्, आर्थिक वृद्धिदर पहिलो पटक ७ प्रतिशत पुगेको छ, मूल्य वृद्धि १० प्रतिशतबाट ३ प्रतिशत हाराहारीमा झरेको छ, प्रवक्ता भुसालले भनिन्, ‘जनताले विकास गर्ने पार्टी माओवादी नै रहेको भनेर बुझेको पाएको छु, अझ अब हामीले विकास गरेर देखाउने प्रतिवद्धता जनाएका छौं ।’

काठमाडौं महानगरपालिकामा माओवादीबाट प्रमुख बनेका सर्वाेत्तम डंगोल घरदैलोमा जाँदा मतदाताबाट लोडसेडिङ हटाएकोमा धन्यवादसँगै भोट दिने विश्वास दिलाएको समेत बताउँछन् । ‘मतदाताहरु उत्साहित देखेको छु,’ मेयरका उम्मेदवार डंगोलले उम्मेदवारका भनाई उदृत गर्दै भने, ‘लोडसेडिङ अन्त्य गर्नुभयो, तपाईहरुलाई भोट नदिएर अरुलाई दिने कुरो हुन्न ।’

स्थानीय तहको समृद्धि र स्थानीय विकास र समृद्धिलाई घोषणापत्रमा विशेष जोड दिएको माओवादी केन्द्रले आफ्नो विचार र एजेण्डा मतदातासम्म पुर्याउन माइकिङ, पर्चा पप्लेट, सामाजिक सञ्जाल, घरदैलो अभियान, भेटघाट तथा सभा समारोह आयोजना गरेको थियो । प्रचारमा पार्टीका केन्द्रिय नेतादेखि तल्लो तहसम्मका कार्यकर्ता, विभिन्न भाृतसंगठन, शुभेच्छुक समेत खटिएका छन् ।