रक्त संकलन केन्द्रमा बेवास्ता नहोस्

रक्त संकलन केन्द्रमा बेवास्ता नहोस्

 

सरकारले  सबै जिल्ला अस्पतालमा रगत संकलन गरेर राख्नुपर्ने व्यवस्था गरेको छ । जिल्ला अस्पतालमा रगत संकलन तथा भण्डारणका लागि आवश्यक व्यवस्थापन गर्न नसक्दा जिल्ला अस्पतालमा रगत अभावले बिरामीहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । केही दिनअघि मात्रै जिल्ला अस्पताल अछाममा जीवनमरणको दोसाँधमा रहेकी कमलबजार–१० चाल्साकी २६ वर्षीया दुधकला साउदका आफन्त र जिल्ला अस्पतालले रगत खोजी गर्दा पनि नपाउँदा आस मारिसकेका थिए । जिल्ला अस्पतालमा रगत सञ्चित गरेर राख्ने संरचना निर्माण नहुँदा रगत अभाव हुँदा बिरामीले ज्यानै गुमाउनुपर्ने अवस्था आएको थियो । तर, रगत नपाएर बिरामीको ज्यान जाने अवस्था आयो भनी सोही अस्पतालमा कार्यरत चिकित्सक सुवास लामिछाने र बसुन्धरा भुसालले आफ्नै रगत दिएर बिरामी बचाउन सफल भए । ‘रगत अभावका कारणले कुनै बिरामीले ज्यान गुमाउनु नपरोस्’ भन्दै सरकारले जिल्ला अस्पतालहरूले अनिवार्य रगत संकलन गर्नुपर्ने व्यवस्था गरेको थियो ।

डाक्टर आफैंले रगत नदिए बिरामीलाई आधा घण्टा बढी बचाउन सक्ने अवस्था थिएन । हेमोग्लोबिनको मात्रा अति कम भएर डाक्टर आफैंले रक्तादान गरी सुत्केरी बचाएको यो पहिलो घटना भने होइन । चार वर्षअघि सुत्केरी हुन अछामकै जिल्ला अस्पताल पुगेकी सुकी विक र जौमती नेपालीलाई पनि स्वास्थ्यकर्मी आफैंले रगत दिएर मृत्युको मुखबाट बचाएका थिए । विगतदेखि नै यस्तो समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालहरूको आग्रहमा सरकारले सबै जिल्ला अस्पतालमा रक्त संकलन केन्द्र निर्माणसँगै रगत स्टोर गरी आवश्यक परेको अवस्थामा सोही रगतको प्रयोग गर्ने व्यवस्था गरिएको थियो । त्यो कार्यान्वयन हुन नसक्दा अझै पनि जिल्ला अस्पतालहरूमा रगत अभावका कारण बिरामीले ज्यान गुमाइरहेका छन् । सबै प्रकारका बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्थापन गर्न रेडक्रसले रक्त सञ्चार केन्द्र स्थापना गरेको भए पनि रक्त सञ्चार केन्द्रमा रगत अभाव हुनुले पनि रक्तदान गर्नेहरूको संख्या न्यून रहेको देखाउँछ । ‘रक्तदान जीवन दान’ नारासहित रगत संकलन गर्ने गरिए पनि दुर्गम जिल्लाहरूमा रक्तदान गर्दा असर गर्छ भन्ने भ्रम पनि उत्तिकै छ । यस्तो भ्रम चिर्न सरकारले विशेष अभियान चलाउनु आवश्यक छ ।

जुनसुकै व्यक्तिको रगत जो कोहीलाई मिल्दैन । रगत लिने व्यक्ति र दिने व्यक्तिको रगतमा सबै मात्रा मेल नखाएमा रगत दिए पनि बिरामीले ज्यान गुमाउनुपर्छ । अछाम जिल्ला अस्पतालमा चिकित्सकको रगत बिरामीको रगतसँग मेल खाएकाले बिरामीको ज्यान बच्न सकेको हो । तर, सरकारले अनिवार्य रगत बैंक सञ्चालन गर्नेतर्फ ध्यान दिन सकेको छैन । स्वास्थ्य मन्त्रालयले विशेष आग्रह गर्दै रगत सञ्चित गरेर राख्न आवश्यक भौतिक पूर्वाधार बनाउन सकेको छैन । विशेषगरी अन्य बिरामीभन्दा सुत्केरीहरूमा हेमोग्लोबिनको मात्रा निकै कम देखिने भएकाले पनि रगत आवश्यक पर्छ । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रमका कारण बिरामीकै आफन्तहरूले समेत रगत दिन मान्दैनन् । तत्काल रगत दिन सक्ने रक्तदाताहरूको सूची बनाएर भए पनि सरकारले रगत अभावमा ज्यान गुमाउने अवस्थामा पुगेका बिरामीको ज्यान जोगाउनु आवश्यक छ ।