बजेट अधिवेशन सोमबारबाट

टेनिस रोका / राजधानी

काठमाडौं, ४ जेठ

व्यवस्थापिका–संसद्को बजेट (बर्खे) अधिवेशन ८ जेठबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चालू हिउँदे अधिवेशन अन्त्य गर्ने घोषणा गर्दै ८ जेठका लागि बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  प्रधानमन्त्रीको सिफारिसमा अब राष्ट्रपतिले अधिवेशन आह्वान गर्नेछिन् ।

संविधान संशोधन, प्रधान्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग तथा अन्य संविधान कार्यान्वयनका लागि ल्याइएका नयाँ कानुनसम्बन्धी विधेयकहरू छलफलकै क्रममा रहेका बेला सरकारले चालू अधिवेशन अन्त्य गरेको हो । चालू अधिवेशन अन्त्य भएसँगै संसद्मा पेस भएका कतिपय सामान्य प्रस्ताव स्वतः निष्क्रिय रहने भए पनि विधेयक तथा महाअभियोगजस्ता विषय अर्को अधिवेशनको बैठकबाट टुंगो लगाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले अब सुरु हुने अधिवेशनमा राजीनामा दिने तयारीसमेत गरेका छन् । सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेससँग स्थानीय तहको निर्वाचनपछि पद हस्तान्तरण गर्ने पूर्वसहमतिअनुसार प्रधानमन्त्री दाहालले राजीनामा दिने घोषणा गरिसकेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयले ८ जेठसम्ममा प्रधानमन्त्रीले राजीनामा दिने जनाएको छ ।

प्रधानमन्त्री दाहालले ८ जेठमा संसद्मा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन् । तर, ८ जेठअगाडि नै प्रधानमन्त्री दाहालले देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिन सक्ने सम्भावना पनि रहेको उनको सचिवालयले जनाएको छ । ‘८ जेठसम्ममा प्रधानमन्त्रीले राजीनामा दिन सक्नुहुन्छ,’ उनको सचिवालयले भन्यो, ‘८ गतेको संसद् बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी हो, अगाडि नै पनि हुन सक्छ ।’ यता, संयुक्त मधेसी मोर्चाको माग सम्बोधनका लागि संसद्मा दर्ता भएको संशोधन विधेयक पारित गराउन सत्तारूढ दलले गृहकार्य अघि बढाएका छन् ।

चालू संसद्को अधिवेशनबाट नै संशोधन पारित गराउने सत्तारूढ दलको तयारी रहे पनि विधेयकमा सहमति पनि नजुटेको र विधेयकको पक्षमा दुई तिहाइ पनि नपुगेपछि सरकारले चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेर अब सुरु हुने अधिवेशनमा दलहरूबीच सहमति जुटाएर वा दुई तिहाइ विधेयकको पक्षमा जुटाएर पारित गराउने नीति लिएको हो । प्रधानमन्त्री दाहालले संशोधन पारित गराउने विषयमा सत्तारूढ नेपाली कांग्रेस तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।

सबैभन्दा लामो समय चलेको हिउँदे अधिवेशन बिहीबार मध्यरातबाट अन्त्य

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संशोधन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको राप्रपाका नेता विक्रम पाण्डेले जानकारी दिए ।

सत्तारूढ दुई दल तथा राप्रपाका नेताहरूबीचको बैठकले आज (शुक्रबार) सर्वदलीय बैठक बसेर संशोधनको विषय कसरी बढाउने भन्ने विषयमा सबैका राय माग्ने निर्णय गरेको छ । ‘शुक्रबार ५ बजे सर्वदलीय बैठक बसेर संशोधन कसरी पास गराउने भन्ने विषयमा छलफल गरेर टुंगोमा पुगौं भन्ने भएको छ,’ नेता पाण्डेले राजधानीसँग भने ।

संविधान कार्यान्वयन महŒवपूर्ण:  सभामुख

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालू अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई बिहीबारको  बैठकमा सभामुखले प्रस्तुत गर्दै अधिवेशनको अन्त्य भएको जानकारी गराएकी थिइन् ।

सभामुख ओनसरी घर्ती मगरले सो अधिवेशनमा भए गरेका कामको फेहरिस्त बैठकमा प्रस्तुत गरिन् । २१ वैशाख २०७३ देखि कुल ३ सय ८१ दिनका अवधिमा १ सय १४ दिनमा १ सय ३५ पटक बैठक बसेको थियो ।

यसबीचमा १७ विधेयक पारित भएका छन् । अधिवेशनमा दोस्रो संशोधन विधेयक एकपटक फिर्ता भई पुनः पेस भएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अविश्वास प्रस्ताव पेस भएको थियो ।

सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महŒवपूर्ण साबित भएको बताइन् ।

उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र संघको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गरिन् । सभामुख घर्तीले संसद्को चालू अधिवेशनमा विभिन्न सांसद कारणवश विभिन्न मितिमा अनुपस्थित भएको सूचना प्रस्तुत गरेकामा बैठकले स्वीकृति दिएको छ ।