भावी प्रधानमन्त्री देउवा : कांग्रेस

काठमाडौं / रास– नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा छलफल अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिने मिति टुंगो नलाग्दै सत्ता सहयात्री दल कांग्रेसले ‘पूर्वसहमति’ अनुसार सभापति देउवालाई अघि सार्ने विषयमा छलफल थालेको हो ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकमा कांग्रेसको नेतृत्वमा सरकार गठनबारे छलफल भएको हो । वर्तमान सत्ता गठबन्धनको निर्माण गर्दाकै सहमतिअनुसार कांग्रेसले सरकार गठनको विषयमा बैठकमा छलफल गरेको हो ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री शशांक कोइरालाले पूर्ववत सहमतिअनुसार सरकार गठन गर्ने विषयमा छलफल भएको बताए । ‘प्रधानमन्त्रीज्यूले राजीनामा गर्ने कुरा आइसकेको छ, प्रधानमन्त्रीले राजीनामा दिनेबित्तिकै पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सहमतिअनुसार सरकार गठन हुन्छ, त्यही विषयमा बैठकमा छलफल भयो,’ कोइरालाले भने ।

अपेक्षित मत आएन

बैठकले पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ । सहभागी नेताहरूले पहिलो चरणको निर्वाचनमा अपेक्षित परिणाम नआएको भन्दै दोस्रो चरणका लागि तयारी तीव्र बनाउनुपर्ने बताएका हुन् ।

३१ वैशाखमा सम्पन्न निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको स्थानीय तह निर्वाचनमा बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय बैठकलेगरेको छ । बैठकपछि केन्द्रीय सदस्य महेश आचार्यले निर्वाचनको परिणाम अपेक्षा गरेभन्दा फरक भएको विषयमा नेताहरूले धारणा राखेको बताए ।