विदुर नगरपालिकामा एमाले विजयी

नुवाकोट, ५ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।

तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार ध्रुब अधिकारीले आठ हजार ७४२ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार एकसय दुई मत ल्याएकी छन । उपप्रमुख पदमा २२ मतको मात्र फरक छ ।

नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन् । तार्केश्वर गाउँपालिकामा नेकपा (एमाले) का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।

ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । रासस