कुलभुषणको मृत्युदण्ड अन्तर्राष्ट्रिय अदालतद्वारा रोक, पाकिस्तानले चुनौती दिने

नयाँ दिल्ली/एजेन्सी– अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएको कुलभूषण जाधवमाथिको फैसला रोक्न आदेश दिएको छ ।

पाकिस्तानी सैन्य अदालतले मृत्युदण्ड दिने फैसला सुनाएको थियो । अन्तर्राष्ट्रिय अदालतले भने पाकिस्तानको जासुसी गरेको आरोपमा पक्राउ परेर जेलमा रहेका जाधवको मृत्युदण्डमाथि रोक लगाएको हो ।

बिहीबार फैसला सुनाउँदै आईसीजेले जाधवका विषयमा सुनुवाई गर्ने अधिकार आफूसँग भएको भन्दै पाकिस्तानको दाबी विपरित जाधव काण्डमा भियना सन्धी लागु हुने जनाएको हो ।

आईसीले उनीमाथिको मृत्युदण्डको फैसला कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाईं भेट्नका लागि राजनीतिक सम्पर्कको भारतीय माग जायज भएको भन्दै उनलाई भेट्न दिन पनि भनेको छ । पाकिस्तानलाई कुलभूषणमाथि कुनै खतरा नरहेको सुनिश्चित गर्न आदेश समेत दिएको छ ।

हेगस्थित अन्तर्राष्ट्रिय अदालतको यो आदेशसँगै अब यो विषयमा अन्तिम फैसला नभएसम्म पाकिस्तानले उनलाई फाँसीको सजाय दिन सक्ने छैन । कुलभूषणमाथि पाकिस्तानको सैन्य अदालतले जासुसी गरेको आरोपमा मृत्युदण्डको फैसला सुनाएको थियो ।

पाकिस्तानले उनलाई जासुसी गरेको आरोपमा पक्राउ गरेपनि भारतले भने इरानबाट अपहरण गरेर पाकिस्तान लगेको दाबी गर्दै आएको छ । भारतीय नौसेनाको पूर्व अधिकारीसमेत रहेका कुलभूषण करिब एक वर्षदेखि पाकिस्तानी जेलमा रहेका छन् ।

जाधवको मृत्युदण्डको सजाय रोक्नका लागि भारतले इन्टरनेशनल कोर्ट अफ जस्टिसको ढोका ढक्ढक्याउन पुगेको थियो । आईसीजेका अध्यक्षले उनीमाथि फाँसीको सजाय सुनुवाई अन्त्य नभएसम्मका लागि रोक लगाउने निर्णय सर्वसम्मतिले गरिएको जनाएका छन् ।

अन्तर्राष्ट्रिय न्यायलयमा ११ जना न्यायाधीसको बेन्चले कुलभूषण जाधवको गिरफ्तारीका बारेमा यसलाई लिएर अझै विवाद रहेको जनाएको छ ।
आईसीजेले पाकिस्तानमा फाँसीको सजायबाट माफी दिनका लागि पाकिस्तानमा रहेको १५० दिनको समय आगामी अगस्टमा मात्रै सकिने जनाएको छ । अदालतमा फैसला सुनाउँदै न्यायधीस रनी एब्राहेमले भने, ‘यसबाट अगस्टपछि कुनै पनि समयमा उनलाई फाँसी दिन सक्छ र यो विषयमा तत्काल समाधान गरिनुपर्छ ।’

अदालतले आईसीजेमा परेको मुद्दामा राखेका आपत्तिका विषय पनि खारेज गरिदिएको छ । अदालतले भारत र पाकिस्तानबीचका सन्धीको हवाला दिँदै सन् १९७७ देखि नै भारत र पाकिस्तान भियना सन्धीको अंग भएको स्मरण समेत गराएको छ । जाधव मामलामा अदालतले उनलाई सल्लाह दिने सहयोगी उपलब्ध गराउनुपर्ने समेत जनाएको छ ।

आईसीजेको यो फैसलालाई लिएर भारतले खुसी व्यक्त गरेको छ । विदेशमन्त्री सुष्मा स्वराजले आईसीलेको फैसलाले कुलभूषण जाधवको परिवार भारतका लागि खुसीको खबर भएको बताएकी छन् । उनले आईसीजेमा भारतको पक्षबाट बहस गर्ने हरिस साल्वेलाई समेत धन्यवाद दिएकी छन् ।

यद्यपि आईसीजेको फैसला पाकिस्तानका लागि बाध्यकारी हुनेछैन । पाकिस्तानले यो फैसलालाई नमानेमा भारतले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा अपील गर्न सक्नेछ । सुरक्षा परिषदमा यो मुद्दा गएको खण्डमा भने पाकिस्तानलाई फैसला मान्नका लागि बाध्य बनाउन सक्नेछ । त्यहाँ पनि भारतको विषयमा चीनले भिटो शक्तिको प्रयोग गरेर अपिल रद्द गराउने खतरा भने भारतका लागि रहनेछ ।

यसैबीच पाकिस्तानी विदेशमन्त्रालयका प्रवक्ता नफिस जकारियाले भने भारतले अन्तर्राष्ट्रिय अदालतमा कुलभूषण जाधवको मुद्दा लगेर आफ्नो असली अनुहार लुकाउने कोशिस गरिरहेको आरोप लगाएका छन् ।

यसका साथै उनले पाकिस्तानले कुलभूषणका विषयमा अन्तर्राष्ट्रिय अदालतमा थप सबुद पेश गर्ने जनाएका छन् । उनले पाकिस्तानको राष्ट्रिय सुरक्षाको विषयमा आईसीजेको हस्तक्षेपको अधिकार नभएको पनि जनाएका छन् । जकारियाले सबै सम्बन्धित संस्था र एजेन्सीको समेत सल्लाह लिएर आईसीजेको अधिकार क्षेत्रलाई चुनौती दिने समेत स्पष्ट पारेका छन् ।