आंशिक प्राध्यापकद्वारा धर्ना

काठमाडौं  /  रासस– त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पसहरूमा कार्यरत आंशिक प्राध्यापकको संगठन नेपाल आंशिक प्राध्यापक संघले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा बृहत् शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरेको छ ।

लामो समयदेखि विश्वविद्यालयमा ज्यालादारीमा प्राध्यापन गर्दै आएका आंशिक प्राध्यापकले बौद्धिक शोषणको अन्त्य गर्न आंशिक प्राध्यापकसँग विभिन्न मितिमा प्रधानमन्त्री, त्रिभुवन विश्वविद्यालय तथा सरकारसँग गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायत माग राखी धर्ना दिएका हुन् । सो कार्यक्रममा त्रिविअन्तर्गतका क्याम्पसमा कार्यरत करिब हजार आंशिक प्राध्यापकको सहभागिता रहेको थियो ।