आखेटोपहार नष्ट गरिँदै

सविन शर्मा / राजधानी

काठमाडौं, ४ जेठ

लामो समयदेखि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा र सशस्त्र वनरक्षक तालिम केन्द्र टिकौलीमा राखिएका दुर्लभ वन्यजन्तुका आखेटोपहार आगामी सोमबार नष्ट गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकभरबाट संकलन गरिएको आखेटोपहार नष्ट गर्ने निर्णय गरेको हो ।

कुहिएर जाने सबै आखेटोपहारलाई नष्ट गर्ने र राम्रो अवस्थामा रहेका केही आखेटोपहारलाई वैज्ञानिक अध्ययन अनुसन्धान, प्रदर्शनी तथा अन्य प्रयोजनका लागि नमुना बारकोडका साथ सुरक्षित राख्ने निर्णय भएको वन तथा भूसंरक्षण मन्त्रालयले जनाएको छ । नष्ट गर्ने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुनेछन् । हालै संशोधित राष्ट्रिय निकुञ्ज वन्यजन्तु ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम वर्षाैंदेखि भण्डारण गरिएका आखेटोपहार नष्ट गरिन लागेको मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले जानकारी दिए । यसअघि कानुनको अभावमा आखेटोपहार नष्ट गर्न सकिएको थिएन ।

चितवनका टिकौली र कसरामा वर्षांैदेखि भण्डारण गरिएका आखेटोपहारको व्यवस्थापन गर्ने सम्बन्धमा यसअघि व्यवस्थापिका–संसद्को वातावरण संरक्षण समितिले पनि सरकारलाई निर्देशन दिएको थियो । ‘भण्डारण गरिएका कतिपय छाला बिग्रिएर एकै ठाउँमा छरपष्ट रहेका, टुक्रिएका र कुहिएकाले पनि नष्ट गर्न लागिएको हो,’ सहसचिव ढकालले भने, ‘कसरा र टिकौलीमा सयौं थान गैंडाका खाग, पाटेबाघ, चितुवा, चरी बाघ, निगाले बाघ र सालकको छाला, जंगली हात्तीका दाह्रा, भालुको नंग्र्रा र पित्त, कस्तुरी मृगको विनालगायत आखेटोपहार संकलन गरिएको छ ।

वन्यजन्तु प्राकृतिक रूपमा मरेमा, चोरी सिकारबाट मारिएमा र तस्करबाट बरामद भएमा वन्यजन्तुका हाड, छाला, रौं, खाग, खुरलगायत महŒवपूर्ण अंग झिकेर त्यहाँ सुरक्षित राख्ने गरिएको थियो । व्यवस्थापन गर्न भनिएका आखेटोपहारहरूको स्थलगत रूपमा संरक्षण गरी छुट्याउन नसक्ने अवस्थामा राखिएको भन्दै संसद्को समितिले आखेटोपहारको व्यवस्थापन गर्नुपूर्व सडेगलेको अवस्थामा रहेकाबाहेक तिनीहरूको संख्या, तौल वा आकारसमेत खुलाउनुपर्ने बताएका थिए । संसदीय समितिले प्राविधिक टोलीको सहयोगमा सड्ने अवस्थामा रहेका र सडेगलेका आखेटोपहार छुट्याएर व्यवस्थापन गर्न वन तथा भूसंरक्षण मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिले मौजुदा आखेटोपहारमध्ये प्राविधिक एवं वैज्ञानिक दृष्टिकोणले भविष्यका लागि सुरक्षित राख्नुपर्ने आखेटोपहार, विचाराधीन मुद्दामा रहेका आखेटोपहार र वैज्ञानिक अनुसन्धानका लागि आवश्यक आखेटोपहार, नमुनाका लागि सुरक्षित गर्न आखेटोपहारलाई वन तथा भू–संरक्षण मन्त्रालयले सुरक्षित राख्न निर्देशन दिएको थियो ।

चितवनमा पनि बाघ, गैंडा, चितुवा, हात्ती, भालु, मृग र चराचुरुंगीलगायत आखेटोपहार संकलन भएका थिए । टिकौलीमा रहेका केही आखेटोपहार ०५४ सालमा जलाएर नष्ट गरिएको थियो । त्यसपछि जम्मा भएका अंग सुरक्षित भण्डारण गरिएको हो । कसरा र टिकौलीमा गरी गैंडाको खाग ३ सय ६०, पाटे बाघको छाला ६९, जंगली हात्तीको दाँत एक सय ८५, चितुवाको छाला चार सय ९३, कस्तूरी मृगको छाला ३६ थान भन्दा बढी छन् । विभिन्न निकुञ्ज र वनमा चोरीसिकारलगायत कारणबाट मरेका वन्यजन्तुका संकलित आखेटोपहार व्यवस्थापन गर्न ‘बारकोडिङ’ (पहिचान संकेत) को काम पूरा भएको छ ।

‘मान्छेलाई वन्यजन्तुका अंगको कुनै मूल्य छैन भन्ने सन्देश दिनु आवश्यक देखिएको छ,’ सहसचिव ढकालले भने, ‘कसरा र टिकौलीमा सयभन्दा बढी वन्यजन्तुका आखेटोपहार भण्डारण गरिएको छ, करिब दुई दशकपछि यसको व्यवस्थापन हुन लागेको हो ।’ विधिविज्ञान प्रयोगशाला, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्राकृतिक विज्ञान संग्रहालय, वन विभाग, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र वन्यजन्तु विभागबाट चिकित्सकसहित नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन र मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अध्ययन गरेको थियो । अन्तराष्ट्रिय समुदाय, वन्यजन्तु संरक्षण र अवैध व्यापार नियन्त्रणमा काम गर्ने निकाय, वैज्ञानिक र सञ्चारकर्मीको उपस्थितिमा आखेटोपहार जलाइने कार्यक्रमलाई सञ्चारमाध्यममार्फत सार्वजनिक गरिनेछ । एकैपटक आखेटोपहार जलाउँदा वन्यजन्तुको अवैध सिकारमा लाग्नेहरू निरुत्साहित हुनेछन् ।

हजारौं आखेटोपहार जलाउँदा विश्वभर सकारात्मक सन्देश जानेछ । पैसाको मोहमा वन्यजन्तुको अवैध व्यापारमा लाग्ने गिरोहसमेत निरुत्साहित हुने वातावरण निर्माण गर्न पनि यो सन्देश देशव्यापी जाने विश्वास सरकारले लिएको छ ।