ठूला अस्पतालमा दोभासे

राजधानी समाचारदाता

काठमाडौं, ४ जेठ

सरकारले आगामी आर्थिक वर्षदेखि सबै सरकारी अस्पतालहरूलाई अपांगमैत्री बनाउनुका साथै ती अस्पतालमा दोभासेसमेत राखिने जनाएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा पहिलो चरणमा राजधानीका सबै अस्पताललाई अपांगमैत्री बनाउँदै वीर अस्पताल र ट्रमा सेन्टरमा कम्तीमा एक–एकजना दोभासेको व्यवस्था मिलाइने बताए । बोल्न नसक्ने र सांकेतिक भाषा प्रयोग गर्ने बिरामीहरूको उपचारमा सहजता होस् भनेर मन्त्रालयले यसो गर्न लागेको मन्त्री थापाको कथन थियो ।

राष्ट्रिय अपांग महासंघलगायत अपांगताको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्थाको सहयोगमा स्वास्थ्य मन्त्रालय कुष्ठरोग नियन्त्रण महाशाखाले तयार गरेको ‘अपांगता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजनाको सार्वजनिकीकरण’ तथा ‘अपांगता कार्यदलबाट तयार गरिएको प्रतिवेदन प्रस्तुतीकरण कार्यक्रम’मा मन्त्री थापाले अपांगता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने एडल्ट डाइपरदेखि अन्य सहायक सामग्रीको आयातमा भन्सार छुट गराइने समेत प्रतिबद्धता व्यक्त गरे ।

मुलुकका सबै अस्पतालमा अपांगहरूलाई सुलभ मात्रै होइन, निःशुल्क औषधि उपचारको व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक कार्ययोजना बनाइसकेको उल्लेख गर्दै मन्त्री थापाले नयाँ संरचनाअनुसार मुलुकका तल्लो तहका अस्पतालदेखि केन्द्रीय स्तरको अस्पतालबमा समेत अपांगहरूको निःशुल्क उपचार होस् भन्ने सरकारको चाहना रहेको पनि उनले बताए ।

मुलुकमा मानसिक स्वास्थ्य समस्या भएका धेरै व्यक्तिहरू रहेको उल्लेख गर्दै मन्त्री थापाले सम्बन्धित परिवार र समाजको सहयोगमा त्यस्ता व्यक्तिको स्वास्थ्यको सम्पूर्ण जिम्मा लिने दिन पनि छिट्टै आउने बताए । सबै नेपालीलाई स्वास्थ्य बिमा गराउने सरकारी योजना रहेको र सबै अपांगहरूको बिमाको प्रिमियम भने सरकारले नै बेहोर्ने पनि मन्त्री थापाले बताए ।

कार्यक्रममा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्त, संसद्को महिला बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिकी अध्यक्ष सांसद रञ्जुकुमारी झा, राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन खड्कालगायतले नेपालमा अपांगहरूले भोग्नुपरेका समस्या उल्लेख गर्दै राज्यको तर्फबाट गर्नुपर्ने कार्यहरूबारे प्रकाश पारेका थिए भने कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक चूडामणि भण्डारीले अपांगता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना र त्यसमा भएका विविध विषयबारे कार्यपत्र प्रस्तुत गरे ।