लगानी बोर्डको उपाध्यक्षमा मन्त्री जोशी

राजधानी समाचारदाता

काठमाडौं, ४ जेठ

उद्योगमन्त्री एवं लगानी बोर्डका नवनियुक्त उपाध्यक्ष नवीन्द्रराज जोशीले लगानी बोर्डलाई विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ठूला पूर्वाधार परियोजना प्रभावकारी ढंगले अघि बढाउन एउटा सशक्त निकायका रूपमा स्थापित गर्नुुपर्ने बताएका छन् । मन्त्री जोशीलाई बोर्डको उपाध्यक्षको समेत जिम्मेवारी दिने निर्णय बुधबार सरकारले गरेकोे हो ।

मन्त्रीजोशीको सम्मानमा लगानी बोर्डको कार्यालयले बोर्डकै कार्यालय नयाँ बानेश्वरमा बिहीबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले उक्त धारणा राखेका हुन् । उनले लगानी बोर्डले आफ्नो विज्ञता र विशिष्टतालाई परियोजना पहिचान एवं तिनीहरूले रोजगारी, राजस्व तथा समग्र अर्थव्यवस्थामा दिने योगदानबारे अनुसन्धान एवं लगानी सहजीकरणको काममा प्राथमिकता दिनुपर्नेमा जोड दिँदै बोर्डको काममा आइपर्ने समस्या समाधान गर्न सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी अघि बढ्नसमेत सुझाव दिए ।

लगानी बोर्डको कामलाई अझ सहज बनाउन लगानीबोर्ड ऐनमा आवश्यक संशोधन गर्नुपर्ने भए त्यसका लागि पनि आफ्ना तर्फबाट आवश्यक सहयोग हुने आश्वासनसमेत दिए ।

सो अवसरमा उद्योग सचिव शंकरप्रसाद कोइरालाले पुँजीगत खर्च कम हुनु सबै मन्त्रालयको समस्या रहेको बताउँदै लगानी बोर्डले अघि बढाएका परियोजनाको सहज कार्यान्वयनमा उद्योग मन्त्रालयको सहयोेग सदैव रहने आश्वासन दिए ।

मन्त्री जोशीलाई स्वागत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उनलाई उपाध्यक्षका रूपमा पाउँदा बोर्ड उत्साहित भएको र बोर्डले हाल भोगिरहेका समस्या समाधानमा उनको मार्ग निर्देशन र सहयोग महŒवपूर्ण हुने बताए ।

उनले लगानी बोर्डले अगाडि बढाएका र तयार पारेका परियोजना एवं हाल परियोजना कार्यान्वयनमा देखिएका समस्याबारे जानकारी गराएका थिए ।