१० बिमा कम्पनी थपिए

काठमाडौं / रास— बिमा क्षेत्रमा विभिन्न १० कम्पनीले सञ्चालन अनुमति पाएका छन् । सरकार परिवर्तन हुन लागेको अवस्थामा  उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले हतारमा १० जीवन बिमा कम्पनीलाई लाइसेन्स दिएका हुन् । महराले बिमा समितिले प्रस्ताव गरेका १२ मध्ये १० वटालाई अनुमति दिने निर्णय गरेका हुन् । दुई कम्पनीले भने अनुमति पाएका छैनन् । युनियन, आईएमई, सिटिजन्स, रिलायबल, ज्योति, महालक्ष्मी, सन नेपाल,  सानिमा, स्टार र रिलायन्सले अनुमति पाएका हुन् । प्रस्ताव गरिएकामध्ये स्ट्यान्डर्ड र युनी लाइफलाई भने मन्त्री महराले अनुमति दिन अस्वीकार गरेका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय बिमा संस्थानसहित अहिले नौ जीवन बिमा कम्पनी कार्यरत छन् । यी १० थपिएपछि जीवन बिमा कम्पनीको संख्या १९ पुग्नेछ । बिमाको बजार खासै फस्टाउन नसेकका बेला एकैपटक यति धेरै कम्पनी थप गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न सक्नेतर्फ पुराना कम्पनीले भने चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १ जेठमै  साताभित्र राजीनामा दिने घोषणा गरेका थिए  । सोही कारण मन्त्री महरा सरकार काम चलाउ हुनुअघि नै बिमा कम्पनीलाई लाइसेन्स दिनेबारे निर्णय गर्ने हतारोमा थिए । सरकारले स्वीकृत दिएका कम्पनीलाई बिमा समितिले निश्चित म्याद दिएर आवश्यक कागजात पु¥याउन निर्देशन दिनेछ ।

समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईं नियुक्त भएदेखि नै नयाँ कम्पनीलाई लाइसेन्स दिने तयारी थालिएको थियो । २०६४ अघि दर्ता भएका कम्पनीलाई लाइसेन्स दिने उद्देश्यले समितिले  बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका–२०७३ जारी गरेको थियो ।