न्यून गुणस्तरको उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर

राजधानी समाचारदाता

काठमाडौं, ४ जेठ

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौंले न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन गर्ने  विभिन्न २९ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । विभागले न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन गरेको ठहर गर्दै काठमाडौं उपत्यकाका २९ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । कृषि विभागले नमुना संकलन गरी परीक्षण गर्दा न्यून गुणस्तर तथा प्रदूषित उत्पादन गर्ने गरेको भेटिएपछि गत फागुनयता विभिन्न २९ वटा गुणस्तरहीन उत्पादक उद्योगविरुद्ध मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका सहप्रवक्ता मदन चापागाईंले जानकारी दिए । फागुनयता मुद्दा दायर गरिएका उद्योगमा अधिकांश उद्योग काठमाडौं उपत्यकाभित्रका रहेको उनले बताए । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका गुणस्तरहीन उतपादकविरुद्ध काठमाडौं शाखाले मुद्दा दायर गरेको र अन्य जिल्लामा सम्बन्धित शाखाले नै अनुगमन तथा मुद्दा दायर गरिरहेको उनले प्रस्ट पारे ।

फागुनयता मुद्दा दायर हुने काठमाडौं उपत्यकाका उद्योगमा  भक्तपुरको कमल विनायकको विनायक मिठाइ भण्डारविरुद्ध दूषित मिठाइ उत्पादन गरेको भन्दै १ वटा मुद्दा र जगदम्बा फुड एन्ड वेभरेज प्रालिविरुद्ध प्रशोधित दूध दूषित भएको भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मुद्दा दायर गरिएको छ । जगदम्बा फुड एन्ड वेभरेज प्रालिले न्यून गाुणस्तरको दूध उत्पादन गरेको भन्दै त्यसविरुद्ध  थप २ वटा मुद्दासहित कुल ४ वटा मुद्दा दायर गरिएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । विभागले फागुन महिनामा मात्रै काठमाडौं उपत्यकाका ९ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जसमा एउटा उद्योगविरुद्ध दूषित कैफियतबापत मुद्दा दायर गरेको छ भने बाँकी ८ वटाविरुद्ध गुणस्तरहीन उत्पादन गरेकाले मुद्दा दायर गरिएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, विभागले गत चैतमा मात्रै कुल १४ वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जसमा गुणस्तरहीन उत्पादक, दूषित उत्पादकलगायत लेबलसमेत नभएका उद्योग रहेका छन् । त्यसैगरी, वैशाखमा मात्रै विभागले कुल ६ वटा मुद्दा दायर गरेको छ । वैशाखमा मुद्दा दायर हुने उद्योगले पनि गुणस्तरहीन र दूषित खाद्य पदार्थ उत्पादन गरेबापत विभागको मुद्दा खेप्नुपरेको छ ।

यसरी गुणस्तरहीन, दूषित र लेबल नभएका उत्पादन गर्नेमा जगदम्बा फुड एन्ड वेभरेज कमल विनायक भक्तपुर, कालिका डेरी कम्पनी भक्तपुर, सीताराम गोकुल मिलक कीर्तिपुर, ग्लेसयिर फुड एन्ड वेभरेज काठमाडौं, तेजस खाद्य प्रोसेसिङ, हरिहरभवनको कसौडी चुलो रहेका छन् । त्यसैगरी, पूmलचोकी मिनिरल वाटर, नवप्रभात डेरी, बबरमहलको काठमाडौं डेरी, एलिसा डेरी एन्ड स्वीटस प्रालिले पनि गुणस्तरहीन खाद्य पदार्थ उत्पादन गर्ने गरेको छ । त्यसैगरी, राजधानी डेरी चापागाउँ, र अनमोल स्वीट्स प्रालि काठमाडौंले पनि गुणस्तरहीन मिठाइ उत्पादन गर्ने गरेका छन् । यी सबै गुणस्तरहीन उत्पादकविरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुद्दा दायर गरेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।