साझामा तलब माग्दा जागिर धराप

राजधानी समाचारदाता

काठमाडौं, ४ जेठ

साझा प्रकाशनका कर्मचारीले तलब माग्दा कारबाहीको पत्र पाएका छन् । साझाका सेयरधनी साहित्यकार वेदमणि घिमिरे संस्थाको कार्यालयमा गएको बेला त्यहाँ कर्मचारीले आफूहरू ११ महिनादेखि तलब नपाएको बताएका छन् ।

 त्यहाँ नयाँ नियुक्ति गरेका कर्मचारीले वैशाखसम्मको तलब पाएको तर आफूहरूले नपाएको गुनासो गरेको विषयमा संस्थाका अध्यक्ष एवं महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले लेखा विभागकी कर्मचारी निर्मला कार्कीलाई पत्र काटेर स्पष्टीकरण सोधेका छन् । गत ११ वैशाखको मितिमा पत्र पठाएर घिमिरेसँग किन गुनासो गरेको भन्दै उचित जवाफ नदिए कारबाही गर्ने चेतावनी दिएका हुन् । त्यति मात्रै होइन, १९ वैशाखमा सञ्चालक समितिको बैठक नै नबसेको बेला क्षेत्रीय कार्यालयका कर्मचारी किरण खनाललाई पनि सोही प्रकृतिको पत्र पठाएर अवकाश दिने तयारी गरिरहेका छन् ।

 त्यस दिन सञ्चालक समितिको बैठक नै बसेको थिएन । सो विषयलाई लिएर अध्यक्ष तथा महाप्रबन्धकसमेत रहेका शर्मा र सञ्चालकहरूबीच मनमुटाव सुरु भएको छ । अध्यक्ष शर्माले बस्दै नबसेको बैठकबाट हुँदै नभएको निर्णयलाई ‘निर्णय भएको’ भनी उल्लेख गरेपछि सञ्चालकहरू आक्रोशित बन्न पुगेका हुन् । अध्यक्ष शर्माले गएको १९ वैशाखको सञ्चालक समितिको निर्णय भनी सो प्रकाशनको क्षेत्रीय कार्यालय, विराटनगरमा कार्यरत सहायक द्वितीय किरण खनाललाई एउटा पत्र काटेका थिए ।

सो पत्रमा खनालले दिएको पुनरावेदन बोर्डको बैठकले अस्वीकृत गरेको बेहोरा उल्लेख थियो । तर, सो दिन बोर्डको बैठक नै नबसी अध्यक्ष शर्माले खनाललाई ‘तपाईंले मिति २०७३÷१०÷२३ मा दिनुभएको नोकरी कार्यसम्बन्धी पुनरावेदन निवेदन सञ्चालक समितिको बैठकमा पेस हुँदा मिति २०७४÷१÷१९ को सञ्चालक समितिको बैठकबाट अस्वीकृत गर्ने निर्णय भएको बेहोरा जानकारी गराइन्छ’ भन्ने बेहोराको पत्र काटेका थिए ।

खनालकै विषयमा छलफल गर्न बोलाइएको बैठक ३ जेठमा बसे पनि सो विषयमा छलफल नै भएन । सञ्चालकमध्येका विजय सुब्बा सो बैठकमा उपस्थित भएनन् । स्रोतका अनुसार १९ वैशाखमै बैठक बसेको माइन्युट तयार गरे पनि त्यसमा कसैले पनि हस्ताक्षर गरेका छैनन् ।

अध्यक्ष शर्माले किर्ते काम गरेको देखेपछि सञ्चालकहरू रुष्ट हुनु स्वाभाविकै हो । अझ, सञ्चालक डा. विजय सुब्बाले त अध्यक्ष शर्माको गलत कामप्रति प्रश्नचिह्न उठाउँदै फेसबुकमा लामो स्टाटस नै लेखेका छन् । उनले ‘साझाका अपराधीहरूलाई दुनियाँले चिन्नुपर्ने’ उल्लेख गर्दै लेखेका छन्,‘कस्तो मान्छेहरूसँग संगत गर्नुपर्ने हुन्छ भन्ने थाहा भएकैले साझा प्रकाशनमा जाने कत्ति पनि इच्छा थिएन । तर, इच्छा नहुँदा नहुँदै पनि परिस्थितिबस जानुप¥यो ।’ उनले व्यवस्थापनको बदमासी पनि उल्लेख गरेका छन् ।

लेखक स्वयं पनि पुरानाले पहिले पाउनेभन्दा नजिक पार्नका लागि मनखुसी दिने गरिएको सुब्बाले उल्लेख गरेका छन् । केही खानपानमा बिकेको, केही साहित्यिक पत्रकार पनि आफन्तलाई जागिरमा लाएपछि बिकेको पनि उनले उल्लेख गरेका छन् ।

अहिले साझा प्रकाशनमा अध्यक्ष, महाप्रबन्धक, प्रशासन प्रमुख, लेखा प्रमुख, छापाखाना प्रमुख पनि एकै व्यक्ति रहेका छन् । प्रकाशनको अडिट पनि गरिएको छैन । सरकारले साझा बचाउन भन्दै दिएको ३० करोडमा मन्त्रालयबाटै जनक शिक्षालाई १४ करोड तिरिएको थियो । बाँकी पैसा कहाँ कसरी व्यवस्थापन गरिएको छ भन्ने अझै सार्वजनिक गरिएको छैन । त्यसैगरी, नयाँ कर्मचारी नथप्ने र पुरानालाई बिदा गर्ने भनिएकोमा ७० जना नयाँ कर्मचारी भर्ना गरिएको छ । यसले गर्दा साझालाई झन आर्थिक रूपमा भार पारिएको भन्दै त्यहाँका कर्मचारीले आफ्नो तलब पाउनुपर्ने माग राखेर आन्दोलनसमेत थालेका छन् ।