संघीय फोरमद्वारा उम्मेदवार छनोट गर्न पत्राचार , १४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने

सुभाष साह / काठमाडौं

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको छ । प्रदेश–३, ४ र ६ मा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने निर्णयबमोजिम जिल्लाजिल्लामा पत्राचार गरेको हो ।

३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश–१, २, ५ र ७ का जिल्लामा फोरम नेपालले उम्मेदवार छनोट गर्न पत्राचार गरेको हो । १४ जेठभित्र उम्मेदवार छनोट गरिसक्नुपर्ने पत्रमा उल्लेख छ ।

तराई मधेसका एक जिल्ला अध्यक्षले १४ जेठभित्रमा उम्मेदवार छनोट गरिसक्नुपर्ने फोरम नेपालको केन्द्रीय कमिटीको निर्देशनात्मक पत्र प्राप्त भएको बताए ।

संघीय फोरमले उम्मेदवार छनोटको मापदण्डसमेत तोकेर जिल्ला कमिटीलाई पत्राचार गरेको छ । फोरम नेपालले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी सम्बन्धित नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ । जसअनुसार वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट गाउँपालिका र नगरपालिका कमिटीले गर्नेछ । त्यस्तै, गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले तय गर्नेछ । त्यसैगरी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउने फोरम नेपालका एक पदाधिकारीले राजधानीलाई बताए ।

१४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने

सम्बन्धित कमिटीले उम्मेदवारको सिफारिस गर्दा सर्वसम्मत नभएको अवस्थामा तीनजना आकांक्षीको नाम सिफारिस गर्नुपर्नेछ । गाउँपालिका र नगरपालिका कमिटीले कहिलेसम्ममा उम्मेदवार छनोट गर्ने भन्ने मापदण्ड बनाउने अधिकार जिल्ला कमिटीले पाएको छ । जिल्ला कमिटीको तोकेको समयसीमाभित्र सम्बन्धित कमिटीले उम्मेदवार छनोट गरिसक्नुपर्ने हुन्छ । फोरम नेपालको पदाधिकारी मात्रै रहने कार्यसम्पदान समितिको बसेको बैठकको निर्णयअनुसार उम्मेदवार छनोट गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनमा आबद्ध दलहरूले संविधान संशोधन नभई मधेसमा कुनै पनि निर्वाचन हुन नदिने, निर्वाचनमा सहभागी नहुने र जबर्जस्ती गर्न खोजिने निर्वाचन बिथोल्ने चेतावनी दिँदै आएको छ  ।

तर केही दिनअघि मात्र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ‘बुलेटको जवाफ ब्यालेट’बाट दिने भन्दै निर्वाचनमा जाने संकेत गरेका थिए ।

यता फोरम नेपालले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निधारण गर्नुपर्ने विषयमा प्रमुख राजनीतिक दलसँग छलफलसमेत गरिरहेको छ ।

उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको स्थानीय तहको संख्या बढाउन गठन गरिएको अध्ययन समितिसँग शुक्रबार सिंहदरबारमा छलफल भएको छ । छलफलमा सहभागी फोरम नेपालका अध्यक्ष यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफलमा समितिका सदस्य समेत रहेका कानुनमन्त्री अजयशंकर नायक, रक्षामन्त्री बालकृष्ण खाँ, फोरम नेपालका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत, राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरू सहभागी रहेका थिए ।