निडर र आत्मविश्वासी सुवर्ण

निडर र आत्मविश्वासी सुवर्ण

वैदेशिक रोजगार व्यवसायी क्षेत्रका लागि नौलो नाम होइन सुर्वण श्रेष्ठ । वैदेशिक रोजगार व्यवसायमा महिलाले उत्कृष्ट कार्य गर्दै नमुना प्रस्तुत गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने व्यक्तित्वका रूपमा उनलाई लिइन्छ ।

निडर स्वभावकी सुवर्ण नेतृत्वदायी भूमिका निर्वाह गरेर यो व्यवसायलाई मर्यादित र सबैले सम्मान गर्ने क्षेत्रका रूपमा विकास गर्ने योजनामा छिन् । सुरुमा कर्मचारीका रूपमा म्यानपावर व्यवसायमा भित्रिएकी सुवर्णले २०६४ सालबाट आफैं व्यवसायिका रूपमा हात हालेकी हुन् । त्यतिबेला मदिना इन्टरनेसनल म्यानपावरको स्थापना गरेकी सुवर्णले थु्रपै आरोहअवरोधको सामना गर्दै आफ्नो संस्थालाई प्रतिष्ठित बनाउने सफल भएको भन्दै गर्व गर्दछिन् ।

‘सुरुमा मलाई पनि बाहिर आएजस्तै यो व्यवसायप्रति वितृष्णा थियो तर मैले सोचेको र आमजनमानसले भन्ने गरेको क्षेत्रभन्दा भिन्न भएको मैले पाएँ,’ उनी भन्छिन्, ‘नीतिनियमभित्र रहेर कामदार पठाउँदा समस्या होइन, देशको अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पर्ने बुझेपछि म यो व्यवसायप्रति आकर्षित भएँ ।’

बेरोजगार नेपाली युवायुवतीलाई उसको जीविकोपार्जका लागि विदेशमा रोजगारको अवसर खोजीखोजी सहयोगी भूमिका खेल्ने पुलका रूपमा रहेको वैदेशिक रोजगार व्यवसायमा लाग्दा आफूले केही ‘पुण्यको काम गरेको महसुस गर्दछिन् रे ।

नेपाल प्रगतिशील वैदेशिक रोजगार मञ्चसँग आबद्ध सुवर्ण मेनपावरको क्षेत्रमा आफू मात्र राम्रो भएर हुँदैन व्यवसायी सबैलाई नीतिनियम चल्ने र मर्यादित बनाउनुपर्नेमा जोड दिन्छिन् ।

‘आमजनमानसले यस व्यवसायलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउनुपर्छ,’ व्यवसायी बनेको दुईभित्र नै उनी वैदेशिक रोजगार व्यवसायी संघको सदस्य पदमा अत्यधिक मतले विजयी भएकी थिइन् । संघ भित्रसमेत नीतिनियमका लागि आवाज उठाउने र अन्याय नसहने व्यावसायिक छवि बनाएकी सुवर्ण सामाजिक काम पनि उत्तिकै सक्रिय छिन् ।

सदस्यका रूपमा रहेपछि उनले व्यावसायिक समस्याहरुको उत्थान र व्यवसायीको आवाज बुलन्द गराउने काम गरिरहेकी कारण उनी पुनः सचिव पदमा विजयी भएकी थिइन् । उनको सक्रियता र व्यवसायप्रतिको आस्थाका कारण संघको तर्फबाट उनलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सदस्यमा नियुक्तिसमेत गरिएको थियो । ‘त्यतिबेला मैले व्यावसायिक मुद्दाहरु उठाउँदै संघको प्रतिनिधि पात्र भएर काम गरेको थिए,’ उनी भन्छिन् ।

फिलिपिन्समा आईओएमले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले नेपालको रिक्रुटमेन्ट सिस्टम, समस्या र समाधानको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा दरो प्रस्तुति दिएकी थिइन् । त्यहाँ उनले युवा महिला व्यवसायीका रूपमा छुट्टै छवि बनाउन सफल भएकी थिइन् । त्यसपछि त उनको चर्चा झन् चुलियो । महिला भएर वैदेशिक रोजगार व्यवसायमा खरो उत्रन त्यति सजिलो भने छैन । उनले कतिपय काम महिला भएकै कारण गुमाउनुपरेको छ । पुलिसदेखि गुन्डासम्मको धम्की सहनुपरेको थियो, तर उनले बाधाअड्चनलाई पार गर्दै एउटा छुट्टै पहिचान बनाउन सफल भइन् । ‘म थाकेकी छैन, मलाई यो क्षेत्र व्यवस्थित, मर्यादित र सम्मानित बनाउने इच्छा छ, चाहे फेरि नेतृत्वमा पुगेर होस् या अन्य कुनै कारणले,’ उनी भन्छिन् ।