देश विकासको बाधक

देश विकासको बाधक

 

डा. प्रकाश बुढाथोकी

चेन स्मोकर गगन थापाले ३३ वर्षको उमेरमा त्यागे धूमपान र हाल ‘म स्वस्थ र मेरो देश स्वस्थ’ अभियानमा छन् । श्रीमती गर्भवती हुँदा धूमपान छोड्न चाहे पनि नसकेका गगनले संसद्मा छलफलमा रहेको सचित्र खोल ३० प्रतिशतबाट ७० प्रतिशत छाप्ने धूमपान ऐनको बिल पास गर्न ७५ प्रतिशत सांसद जरुरत बनाउने क्रममा त्यागेका थिए । अभियान चाल्न युवा सांसदको जरुरत थियो । अभियानकर्ता तारा र बद्रीजीले चेन स्मोकर गगनलाई भेटी प्रस्ताव राखे ‘साँच्चै धूमपान छाड्ने हो भने यो सुनौलो मौका हो’ भन्दै हरपल क्यामराका सामु रहने र छोड्ने दबाबमा रहने कारणले छोड्न प्रेरणा मिल्ने बताए । त्यसैलाई मौका, प्रेरणा र ऊर्जा मान्दै चटक्कै चुरोट छोडे र आज ८ वर्ष पनि नाघ्दा फेरि लतमा फसेका छैनन् ।

सुर्तीजन्य पदार्थले यसको प्रयोग गर्नेमध्ये आधीलाई मार्दछ । सुर्तीले बर्सेनि ७० लाख बढी मानिस मार्दछ । जसमा ६० लाख बढी प्रत्यक्ष सुर्ती सेवन गर्ने पर्दछन् भने ८ लाख ९० हजार सुर्ती सेवन नगर्ने तर उक्त वातावरणमा रहने पर्दछन् । अम्मली १ करोड बढी व्यक्तिमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका छन् । जहाँ टोबाकोले उत्पन्न गर्ने रोग, समस्या तथा मृत्यु अत्यधिक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा धूमपानका कारण दैनिक ६७ जना तथा बर्सेनि २५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । जसमा पुरुष १५ हजार र महिला १० हजार छन् । सुर्तीजन्य पदार्थ सेवनका कारण लाग्ने रोगको उपचारमा सरकारले प्रत्यक्ष रूपमा वार्षिक ५ अर्ब र अप्रत्यक्ष रूपमा ५० अर्बभन्दा बढी बजेट खर्च गर्ने गरेको छ । बेर्हाेनुपर्ने खर्च र भौतिक सुविधा उपलब्ध गराउनुपर्ने अझ धेरै गुणा बढी छ । सरकारी तथ्यांकमा ३० प्रतिशत जनतामा सुर्तीजन्य पदार्थको लत छ भने ७० प्रतिशत अप्रत्यक्ष धूमपानबाट पीडित छन् । मृत्यु अपरिपक्व उमेरमै हुने भएकाले परिवारको आम्दानी, स्वास्थ्य खर्च र आर्थिक विकासमा असर पार्दछ ।

सुर्तीजन्य पदार्थले यसको प्रयोग गर्नेमध्ये आधीलाई मार्दछ । सुर्तीले बर्सेनि ७० लाख बढी मानिस मार्छ । जसमा ६० लाख बढी प्रत्यक्ष सुर्ती सेवन गर्ने पर्छन् भने ८ लाख ९० हजार सुर्ती सेवन नगर्ने तर उक्त वातावरणमा रहने पर्दछन् । अम्मली १ करोड बढी व्यक्तिमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका छन् ।

चीनमा भएको सन् २००९ को सर्वेले ३८ प्रतिशतले सुर्ती सेवनकर्ताले मात्रकोरोनरी मुटुरोग हुने र २७ प्रतिशतले मात्र स्ट्रोक हुने जानकारी भएको देखाएको छ । सुर्ती सेवनकर्तालाई धूमपान त्याग्न २४ देशले अर्थात् विश्व जनसंख्याको केवल १५ प्रतिशतले मात्र सेवाप्रदान गरेका छन् र एकचौथाइ कम आय भएका देशमा यस्तो कुनै पनि प्रकारको सेवा छैन । खोलमा सचित्र राख्ने राम्रो अभ्यास भएका अर्थात् स्थानीय भाषामा रहेका र अगाडि तथा पछाडि दुवै भागमा ५० प्रतिशतमा चित्र रहेका खोल भएका सुर्तीजन्य पदार्थ पाइने ४२ मात्र देश छन् जुन विश्व जनसंख्याको १९ प्रतिशत हो । विज्ञापन, प्रवद्र्धन र प्रायोजनमा प्रतिबन्ध गर्दा सुर्तीको उपभोग ७ देखि १६ प्रतिशतले घटेको देखाएको छ । पूर्णरूपमा प्रतिबन्ध लगाउने २९ देश अर्थात् विश्व जनसंख्याको १२ प्रतिशत छ । हरेक ३ देशमा १ मा एकदम कम वा प्रतिबन्ध नै छैन । जवान र गरिबमा सुर्तीको उपभोग कम गराउने एक सर्वाेत्तम उपाय कर बढाउने हो । सुर्तीमा १० प्रतिशत कर बढाउँदा विकसित देशमा ४ र कम तथा मध्य आय भएका देशमा ५ प्रतिशत उपभोग घट्छ । केवल ३३ देशले अर्थात् १० प्रतिशत जनसंख्या मात्र सुर्ती करमा छन् ।

२७ दफा रहेको धूमपान नियन्त्रण तथा नियमन गर्ने ऐनमा सार्वजनिक स्थलमा धूमपान निषेध मात्रै होइन, सबै प्रकारका सञ्चार माध्यममा प्रचारप्रसार गर्न, विज्ञापन गर्न र आकर्षक नारा, चित्र प्रयोग गर्न पनि रोक लगाइएको छ । विद्युतीय सञ्चारमाध्यममा २०५५ फाल्गुन ७ देखि नै धूमपानसम्बन्धी विज्ञापनमा रोक भए पनि छापा, भित्तेलेखन, होर्डिङबोर्ड, लोगो वा अन्य कुनै माध्यमबाट पनि अब प्रचारप्रसार र प्रायोजन गर्न गराउन पाइनेछैन । १८ वर्षमुनिका बालबालिकाले धूमपान गर्नु, बिक्रीवितरण हुनुलाई गैरकानुनी कार्यका रूपमा उल्लेख छ । तोकिएको पसलले मात्र चुरोट बिक्री गर्न पाउने व्यवस्था छ । सार्वजनिक स्थलमा सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बालउद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग, कलकारखानादेखि सार्वजनिक सवारीसाधनका प्रतीÔालयदेखि टिकट काउन्टरसम्म पर्दछन् । अन्य व्यक्तिलाई असर पर्ने गरी घर र निजी सवारीसाधनमा समेत धूमपान गर्न पाइनेछैन । तर कारागार, विमानस्थल र पर्यटकीय स्तरको होटलमा धूमपान क्षेत्र तोक्न सकिनेछ । सार्वजनिक स्थलमा धूमपान वा सुर्तीसेवन गर्ने व्यक्तिलाई सयदेखि ५ हजार रुपैयाँसम्म जरिबाना सार्वजनिक स्थलबाट हटाउने वा दुवै गर्न सकिनेछ भने कर्मचारी भए तुरुन्त रोक लगाउने, पटकपटक गरे अनुशासन नरहेको मानी सचेत गराउने वा अन्य विभागीय

कारबाहीसमेत गर्न सकिनेछ ।

त्यसैगरी सुर्तीजन्य पदार्थ उत्पादकले त्यस्ता वस्तुको बट्टाको बाहिरी भागमध्ये कम्तीमा ७५ प्रतिशत भागमा सुर्तीजन्य पदार्थ हानिकारक भएको चेतावनीमूलक शब्द, सन्देश र उत्पन्न घातक रंगिन चित्र प्रस्ट रूपले झल्किने गरी नेपाली भाषामा अंकित गर्नुपर्ने थियो र २०७१ मा ९० प्रतिशत बनाइएको छ । हालका स्वास्थ्यमन्त्री अर्काे वर्ष शतप्रतिशत र सन् २०३० सम्ममा धूमपानमुक्त युवा पुस्ता बनाउन लागिपरेका छन् । मापदण्ड पूरा नभएका सुर्तीजन्य पदार्थ आयात गर्न नपाइने व्यवस्थाले एकातिर स्वदेशी उद्योगले टेवा पाउनेछन् भने अर्काेतिर न्यून गुणस्तरको र मापदण्ड नपुगेको र चोरी निकासी भई आयात हुने यस्ता पदार्थ स्वतः समाप्त हुनेछन् ।

प्याकेटमा लेबल, ट्रेडमार्क, चिन्ह, उत्पादकको नाम, ठेगाना र निकोटिनको मात्रासमेत उल्लेख गर्नुपर्नेछ । नाबालकलाई आकर्षण गर्ने गरी कुनै लोगो, चिह्न, चित्र प्याकेटमा राखेमा ५० हजार जरिबाना तिर्नुपर्ने हुन्छ । १८ वर्ष कम, गर्भवती महिलालाई बिक्री वितरण वा निःशुल्क दिन पाइनेछैन । शिक्षण तथा स्वास्थ्य संस्था, बाल शिशुकल्याण, स्याहार केन्द्र, अनाथालय, वृद्धाश्रमलगायत सार्वजनिक स्थलसँग जोडिएका घरपसलबाट तथा १ सय मिटरभित्रसमेत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइनेछैन । फुटकर रूपमा चुरोट, बिँडी, सिगारको खिल्ली बिक्रीवितरण गर्न पाइनेछैन । पसलेले कुनै ग्राहकको उमेरबारे यकिन हुन चाहेमा ऊसँग आवश्यक प्रमाण माग गर्न सक्ने अधिकार छ ।

सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनको नीति निर्धारण गर्ने कामका लागि सरकारले स्वास्थ्य सचिवको अध्यक्षतामा विभिन्न निकायका थप ६ जना प्रतिनिधि रहेको एउटा नियमन समिति बनाउने प्रस्ताव पनि विधेयकमा छ । ऐन कार्यान्वयनका साथै सुर्तीेको खेतीको सट्टा अरू कपास, ऊखु, तरकारी, फलफूलको खेती गर्न उत्प्रेरित गर्नुपर्दछ । नियन्त्रण कार्यक्रममा आमसञ्चारलाई सहभागी बनाई जनचेतना जगाउनु पर्दछ । आदर्श व्यक्तिहरूलाई सेवन नगर्न र प्रचारमा पनि संलग्न गराउन बन्देज लगाउनुपर्छ । सुर्तीजन्य पदार्थमा लाग्ने करमा वृद्धि गरेर वा स–साना प्याकेटमा किनमेल गर्न नपाइने बनाउनुपर्छ । बालबालिकालाई ओसारपसार, बिक्रीवितरण र खरिदमा हुने संलग्नतामा निषेध गरिनु पर्दछ । अभियानकै रूपमा सडक बालबालिका, खाते र जोखिम समूहलाई लक्षित गरी कार्यक्रम चलाइनु पर्दछ । सुर्ती सेवनमा निर्भर भइसकेकाहरूको उपचार ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’बाट गर्न सकिन्छ । तर, साउथ एसिया टोबाको कन्ट्रोल लिडरसिप प्रोग्राममा आएका देशका टोलीलाई सरकारले भनेका तथ्यमा स्थलगत अध्ययन गर्दा खोलमा ९० प्रतिशत चित्र नभएको, १८ वर्षभन्दा कम उमेरकामा पनि खुलमखुला बिक्री तथा निःशुल्क वितरण भइरहेको पाए । चुरोटका खिल्ली पनि हरेक पसलमा बिक्री भइरहेको थियो । अस्पताल अगाडि नै सुर्तीको बिक्री तथा सेवन गरेको पनि भेटियो । नियममा भनेको सार्वजनिक स्थलमा बिक्री वितरण र सेवनमा बन्देज भन्ने पनि त्यस्तै कागजमा मात्र रहेको बताए । नेपालमा भूकम्पभन्दा तीनगुणा बढीको अर्थात् बर्सेनि २५ हजारको ज्यान लिइरहेको महाविपत्ति किन नरोक्ने ? भन्ने प्रतिप्रश्न तेर्साएर बिदा भएका छन् ।

(डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सह–कोषाध्यक्ष हुन् )