जर्मन दुतावास नजिकको विस्फोटमा थप चार दूतावासमा क्षति

एजेन्सी

काबुल, १७ जेठ

अफगानिस्तानको राजधानी काबुलमा रहेको कूटनीतिक क्षेत्रमा भएको शक्तिशाली बम आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ भने अन्य ३५० जना घाइते भएका छन् । विभिन्न देशका दुतावासहरु रहेको सो क्षेत्रको जानबाक स्क्वायर नजिकै भएको आक्रमणमा परी मारिनेमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

अफगानी अधिकारीहरुले यसलाई राजधानी काबुलमा भएको यो विस्फोटलाई अहिलेसम्म काबुलमा भएका ठूला विस्फोटमध्ये एक भएको बताएका छन् । आक्रमणकारीले सो क्षेत्रमा ट्यांकर विस्फोट गराउँदा सो क्षेत्रमा रहेका रहेका रेष्टुरेन्ट, सरकारी कार्यालय र विभिन्न देशका दूतावासहरुका क्षति पुगेको छ ।

अधिकारीहरुले जर्मनीसहित जापान, फ्रान्स, टर्कीलगायत देशका दूतावासहरुमा समेत क्षति पुगेको छ । जर्मन दुतावासनजिकै विस्फोट भएपनि दुतावासका कोही कर्मचारीको हताहती भने भएको छैन ।

आक्रमणको यो खबर तयार पार्दासम्म कसैले पनि जिम्मेवारी लिएको छैन । तालिबानका प्रवक्ता जाबिउल्लाह मुजाहिदले यो आक्रमणमा तालिबानको संलग्नता अस्वीकार गरेका छन् ।

अफगानिस्तानको टोलो न्युज एजेन्सीले बम आक्रमणमा परी आफ्ना एक जना कर्मचारी अजिज नवीनको मृत्यु भएको जनाएको छ । यसैगरी बीबीसीका सवारी चालक मोहम्मद नाजीरको मृत्यु भएको छ भने अन्य चार जना पत्रकार घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । अफगानिस्थानको गृहमन्त्रालयले विस्फोटका कारण ठूलो संख्यामा सर्वसाधारण घाईते भएका कारण रगतदान गर्न आम जनतालाई अपील गरेको छ ।

पत्रकारहरुलाई कार्यालय लिएर गइरहेका बेला नाजीरले चलाएको सवारी विस्फोटमा परेको हो । जर्मन दुतावासमा कार्यरत एक जना अफगानी सुरक्षा गार्डको समेत मृत्यु भएको छ । बिस्फोटमा मारिने अधिकांश अफगानी नागरिक नै रहेको बताइएको छ । यद्यपि मृतक सबैको पहिचान खुलिनसकेका कारण अन्य देशका नागरिकको हताहतीबारे स्पष्ट भइसकेको छैन ।

अत्याधिक सुरक्षा जाँच हुने सो क्षेत्रमा अधिकांश समय ट्राफिक जाम हुने गर्दछ । अफगान अधिकारीहरुले अत्याधिक ट्राफिक जाम र भिडभाड हुने सोही क्षेत्रमा गराएको विस्फोटका कारण ठूलो मानवीय क्षति पुगेको जनाएका छन् ।

विस्फोटलगत्तै सो स्थानमा केही सवारी साधनमा आगो लागेको, भवनहरु क्षतिग्रस्त भएको देखिएको थियो । विस्फोट भएको १ मिटर भित्र रहेका भवनहरुमा समेत क्षति पुगेको जनाइएको छ । उच्च सुरक्षा अपनाइएको सो क्षेत्रमा भएको यो विस्फोटले अफगानिस्तानको सुरक्षा अवस्थाबारे धेरै प्रश्नहरु जन्माइदिएको छ ।

धेरै लोड भएका सवारी साधनमाथि सो क्षेत्रमा दैनिक कडा चेकचाँच हुने गर्दछ भने सुरक्षाफौजको पूर्व स्विकृति बिना सो क्षेत्रमा यस्ता सवारी साधन गुडाउन अनुमति समेत छैन ।

चरमपन्थी संगठन आईएसले अफगानिस्तानको राजधानी काबुलमा पछिल्लो समयमा हुने यसप्रकारका विस्फोटका घटनाको जिम्मेवारी लिदै आएको छ । यही मे ३ मा काबुलमा नेटो सुरक्षाफौजलाई लक्षित गरी गराइएको विस्फोटमा काबुलमा ८ जनाको मृत्यु भएको थियो । अफगानिस्तानमा नेटो समूहका ५ हजार सहित ८ हजार ४ सय भन्दा बढी अमेरिकी सैनिक कार्यरत रहेका छन् ।

जर्मन विदेशमन्त्री सिग्मर गाब्रियलले जर्मन दुतावासमा कार्यरत एक अफगान सुरक्षा गार्डको मृत्यु भएको र केही दुतावासका कर्मचारी घाइते भएको जानकारी गराएका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले काबुलमा भएको भिषण विस्फोटपछि दुताबासका सबै कर्मचारी सुरक्षित रहेको जनाएकी छन् ।

फ्रेन्च अधिकारीहरुले अफगानिस्तानस्थित दुतावास क्षतिग्रस्त भएपनि कुनै पनि कर्मचारीको हतहती नभएको जनाएका छन् । विस्फोटलगत्तै सो क्षेत्रको आकाश नै कालो बनाएर ढाक्ने गरी धुँवा फैलिएको थियो । ठूलो आवाजसहितको सो विस्फोटपछि त्यस क्षेत्रमा रहेका अधिकांश भवनका झ्याल ढोका क्षतिग्रस्त बनेका प्रत्यक्षदर्शी फतिमा फाइजीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटपछि ५० वटा भन्दा बढी सवारी साधनमा क्षति पुगेको छ ।