हिमालयन ट्राभल मार्ट सुरु

राजधानी समाचारदाता

काठमाडौं, १८ जेठ

हिमालयन ट्राभल मार्ट सुरु भएको छ । नेपालमा पहिलोपटक आयोजना गरिएको यो कार्यक्रमका लागि विश्वका ३५ भन्दा धेरै देशका ट्राभल र एड्भेन्चरबारे लेख्ने २ सय ५० ब्लगर, पत्रकार र व्यवसायीहरू भेला भटएका छन् । बिहीबार सुरु भएको भेलामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा भएको मार्टले पहिलो दिन इन्टरनेसनल ट्राभल ब्लगर एन्ड मिडिया कन्फरेन्स आयोजना गरेको थियो ।

नेपाल, गेट वे टु हिमालय भन्ने नारालाई साथ दिनका लागि नेपालसहित भारत, भुटान, पाकिस्तान र चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए । उनले यो हिमालय ट्रेललाई विकास र प्रवद्र्धन गर्न पाटाले सहयोग गरेको र नेपाल सरकारले त्यसलाई प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

नेपालको पर्यटन क्षेत्रको व्यापार विस्तार गर्न आईटी क्षेत्र, अनलाइन र ब्लगको माध्यमबाट अघि बढाउनका लागि पहल गर्नुपर्छ भनेर नै कन्फरेन्स आयोजना गरेको पाण्डेले बताए । उनले हिमालयन ट्राभल मार्टलाई विश्वव्यापी बनाउन संसारभरका ब्लगरको सहयोग लिइएको र उनीहरूमार्फत नेपालको पर्यटन क्षेत्रले नयाँ मोड लिने विश्वास व्यक्त गरे ।

पाटाका सीईओ डा. मारियो हार्डीले नेपालले पर्यटनको क्षेत्रबाट निकै फाइदा लिन सक्ने बताए । हार्डीले नेपालले पर्यटन क्षेत्रलाई विश्व बजारमा लैजान नसकेको भन्दै सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले मिलेर चाँडोभन्दा चाँडो प्रचारप्रसार र सेल मिसनमा लाग्नुपर्ने सुझाव दिएका थिए । हिमालयको रेन्जमा नेपाल सेन्टरमा रहेकाले नेपालले यो क्षेत्रको पर्यटनलाई लिड गर्नुपर्ने पर्यटन बोर्डका पूर्व अध्यक्ष प्रचण्डमान श्रेष्ठको भनाइ थियो । हिमालय क्षेत्रलाई पोलिटिकल नक्साभित्र हेर्न नहुने भन्दै छिमेकी सबै देशले मिलेर यो क्षेत्रको प्रवद्र्धन र विकास गर्नुपर्ने उनले बताए ।