स्वागतयोग्य निर्णय

स्वागतयोग्य निर्णय

 

जथाभावी बाटो काट्ने यात्रुसँग २ सय रुपैयाँ असुल गर्दै आएको ट्राफिक प्रहरीले गृहमन्त्री जनार्दन शर्माको निर्देशनसँगै यात्रुसँग असुल उपर गर्न छाडेको छ । मुलुकलाई लोडसेडिङमुक्त गर्न भूमिका निर्वाह गरेका मन्त्री शर्मा अहिले सामाजिक सञ्जालमा हाईहाई भएका छन् । सडकमा जेब्राक्रसिङ नबनाउने तर यात्रुलाई ‘किन बाटो काटिस्’ भन्दै कारबाही गर्ने ट्राफिक प्रहरीको शैली आफैंमा सही निर्णय थिएन । २ सय जरिवाना लिन छाडे पनि जथाभावी बाटो काट्नेलाई आधा घण्टा प्रशिक्षण दिने शैली आफैंमा राम्रो हो । यससँगै काठमाडौंका मुख्य सडकमा देखिने गरी जेब्राक्रसिङ बनाउने र जेब्राक्रसिङमा सवारी साधन रोक्ने सवारी धनीलाई कारबाही गर्ने हो भने सडकमैत्री सहरको कल्पना सार्थक हुन्थ्यो ।

गत १ वैशाखदेखि सवारी साधनलाई हर्न नबजाउन निर्देशन गरेपछि अहिले काठमाडौंका सार्वजनिक र निजी सवारी धनीले हर्न बजाउन छाडेका छन् । सडक पेटीमा मोटरसाइकलमा हुइँकिने मात्रै होइन, जेब्राक्रसिङमा यात्रुले बाटो काटेको देख्दादेख्दै हर्न बजाएर यात्रुलाई अत्याउने चालकहरू सहरभरि भेटिन्छन् । जथाभावी सवारी साधन रोक्ने एवं यात्रु चढाउने र झार्ने चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही जारी नै राखेको छ । सार्वजनिक सवारी सञ्चालकको बेथितिपूर्ण रबैया देख्दा भने जथाभावी सवारी साधन रोक्नेलाई अझ कडा कारबाही गर्नुका साथै हर्जाना दस्तुरसमेत बढाउनुपर्ने देखिन्छ । कतिपय सार्वजनिक सवारी सञ्चालक यति बदमास छन् कि यात्रु देखे भने जुनसुकै स्थानमा पनि सवारी रोकिदिन्छन् । यसको अर्थ काठमाडौंका आम सवारी चालक बदमास छन् भन्ने होइन । केही सवारी सचेत र सभ्य पनि छन् । तर बदमासी गर्नेहरूको संख्या बढी हुँदा आम चालकको छवि धुमिल हुन पुगेको छ ।

केवल यात्रुलाई जरिवाना तिराएर वा केही समय प्रशिक्षण दिएर मात्रै सडक समस्या हल हुँदैन । सबैभन्दा पहिला सडक सफा र सुन्दर हुनुपर्छ, ताकि यात्रुहरूले कहाँ बाटो काट्ने ठाउँ हो हेरेर थाह पाऊन् । अहिले पनि कतिपय अकासे पुलमुनिबाट सवारी साधनलाई हात दिँदै सडकबाटै वारपार गर्नेहरू पनि छन् । त्यस्ता यात्रुसँग भने हर्जाना लिनैपर्छ । गृहमन्त्री शर्माले ट्राफिक प्रहरीलाई यात्रुसँग असुल उपर नगर्न निर्देशन दिए, यो आफैंमा राम्रो हो । त्यतिले मात्रै सहरको सभ्यता जोगिँदैन भन्नेमा पनि गृहमन्त्री शर्मा सचेत हुनैपर्छ । अहिले पनि कतिपय रुटमा २० वर्षभन्दा पुराना सवारी साधन सानका साथ हुइँकिइरहेका छन् भने सिट क्षमताभन्दा तेब्बर यात्रु ओसार्ने क्रम पनि जारी नै छ । आशा गरौं गृहमन्त्री शर्माले आगामी दिनमा सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन पनि पहल गर्नेछन् ।