स्वास्थ्यप्रति सचेत होऊ

स्वास्थ्यप्रति सचेत होऊ

गर्मी बढेसँगै विभिन्न अस्पतालमा बिरामीको संख्यासमेत वृद्धि हुन थालेको छ । लमजुङ, धादिङ, गोरखालगायत काठमाडौंकै सरकारी तथा निजी अस्पतालहरूमा दिनानुदिन बिरामीको संख्या बढ्दो छ । अहिलेको स्वास्थ्य समस्याका रूपमा रुघाखोकी, भाइरल ज्वरो, झाडापखाला र टाइफाइड देखिएको छ । यस याममा बिरामीको संख्या बढेको यो नै पहिलोपटक होइन । पछिल्ला केही दिनदेखि पानी नपरेकाले काठमाडौंलगायतका जिल्लामा गर्मी बढ्दा विभिन्न रोगको संक्रमण पनि बढेको देखिएको छ ।

जेठ र असारमा गर्मी बढ्नु स्वाभाविक हो । गर्मी वा जाडो बढ्नु मानवीय वशभन्दा परको विषय हो । तसर्थ, मानवले चाहँदैमा र चाहेको बेला मौसममा परिवर्तन सम्भव हुँदैन । बरु गर्मीको बेला खानपानलगायत लवाइमा समेत सावधानी अपनाउन सकेमा यसबाट हुने क्षतिबाट बच्न र बचाउन सकिन्छ । सकेसम्म रोग लाग्नै नदिनु सबैभन्दा राम्रो हो । रोग लागिहालेमा बेलैमा अस्पताल पु¥याउनु सबैभन्दा बुद्धिमानी हुन्छ । रुघा, ज्वरोजस्ता संक्रमण देखिँदा घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ । हैजा र टाइफाइडजस्ता समस्या देखियो भने तत्काल नजिकका स्वास्थ्य संस्थामा जानुको विकल्प हुँदैन । यस याममा फलफूल र पानी खाँदा विशेष सचेतना अपनाउनुपर्छ । आँप, लिचीलगायतका फलफूलको मौसम भएकाले अहिले धेरैले यी फलफूलको प्रयोग गर्ने गरेका छन् । यस्ता फलफूल खाँदा विशेष सावधानी भने अपनाउनैपर्छ । यस याममा बढी नै गर्मी हुने भएकाले कतिपयले खानेपानीका लागि नजिकको कुवा वा खोला प्रयोग गर्छन् । गर्मी याम भएकै कारण कतिपयको त्यसरी ल्याएको पानी पनि नतताई प्रयोग गर्ने बानी हुन्छ । जुनसुकै स्रोतबाट ल्याएको भए पनि पानी पिउनुअगाडि उमाल्न अल्छी गर्नुहुन्न । यसैगरी, पानी शुद्ध बनाउने औषधि पनि प्रयोग गर्नुपर्छ ।

अहिले जुन अनुपातमा बिरामीको संख्या बढेको छ । तत्काल गर्मीमा कमी आउने सम्भावना नभएकाले यो संख्या आगामी दिनमा झन् बढी नहोला भन्न सकिन्न । गर्मीको बेला विभिन्न रोग फैलिँदा त्यसले महामारीको रूप लिन सक्छ । यस्तो स्थिति सिर्जना हुन नदिन स्वास्थ्यसम्बद्ध निकायहरू चनाखो हुनुपर्छ । कथंकदाचित महामारी देखिहालेमा पनि त्यसबाट हुने असर न्यून गर्न र कुनै पनि मावनीय क्षति हुन नदिन सरकारले बेलैमा आवश्यक चाँजोपाँजो मिलाउन सक्नुपर्छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संस्थाहरूले गम्भीरता र होसियारी देखाउनुपर्ने बेला पनि यही हो । सबैभन्दा महŒवपूर्ण कुरा गर्मीको बेला बढी रोगको संक्रमण हुने भएकाले यससम्बन्धी जनचेतनाका लागि सरकारी तथा निजी संस्थाहरूले नियमित रूपमा विशेष अभियान चलाउनु आवश्यक छ ।