आचारसंहिता कार्यान्वयन गर

आचारसंहिता कार्यान्वयन गर

 

स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रचारप्रसारका क्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेका घटनाहरू सार्वजनिक भएका छन् । प्रचारप्रसारमा बालबालिका प्रयोगदेखि एकअर्काका झण्डा, प्रचारसामग्री च्यात्ने जलाउनेसम्मका घटना भएका छन् । आयोगले बालबालिकाको प्रयोग नगर्न शनिबार मात्रै दलहरूको लिखित ध्यानाकर्षण नै गराएको छ । आयोगले बारम्बार दलहरूको ध्यानाकर्षण गराए पनि विभिन्न राजनीतिक दलले आचारसंहिता विपरीतका क्रियाकलाप जारी नै राखेका छन् । आचारसंहिता उल्लंघन गर्नेमा दलहरू मात्र होइनन् सरकार आफैं पनि कतिपय घटनामा सरकार पनि मुछिएको छ ।

आचारसंहिताले निर्दिष्ट गरेको आचरणमा रहेर निर्वाचन गतिविधि सञ्चालन गर्नु राजनीतिक दलहरूको कर्तव्य हो । निर्वाचनअघि दलहरूसमेतको उपस्थिति र परामर्शमा आचारसंहिताका बुँदा तय गरिएका हुन् । यसको अर्थ निर्वाचनमा के गर्ने के नगर्ने भन्ने आचारसंहिताका दफा दलहरू आफैंले निर्माण गरेका हुन्छन् । बेलाबेला सरकारकै तहबाट पनि आचारसंहिता उल्लंघन भइरहेको छ । बुँदाहरू सीधासीधा उल्लंघन भइरहेका हुन्छन् । आखिर किन आचारसंहितालाई दलहरूले धज्जी उडाइरहेका छन् त ? यो गम्भीर सवाल हो । कतिपय अवस्थामा आचारसंहितामा केके छन् भन्ने कुरा हेक्का नराख्दा पनि उल्लंघनका घटना हुन सक्छन् । तर अधिकांशमा दलहरूको जबर्जस्ती र बलमिच्याइँ नै देखिन्छ । यसरी आचारसंहितालाई व्यवहारमा उतार्न नपर्ने दस्तावेजको रूपमा सीमित राख्ने प्रवृत्ति दोहोरिरहनुमा निर्वाचन आयोगको पनि कमजोरी छ । आचारसंहिता उल्लंघनमा सामेल हुनेहरूलाई तोकिएको कारबाही नहुनु, सामान्य स्पष्टीकरण
सोधेर औपचारिकता मात्र पूरा गर्नु, नियमित रूपमा अनुगमनको प्रभावकारी संयन्त्रको विकास नगरिनु मुख्य कारण हुन् । यसरी आयोग निरीह बन्दै जाँदा उल्लंघन गर्नेहरूको मनोबल बढ्न गएको देखिन्छ ।

निर्वाचनलाई आफूले चाहेको जनप्रतिनिधि चुन्ने सबैभन्दा लोकतान्त्रिक विधि र प्रक्रियाको रूपमा लिइन्छ । यस खालको लोकतान्त्रिक अभ्यासको क्रममा निर्धारित आचारसंहितालाई पालना गर्नगराउन सकेमा मात्र निर्वाचनको महŒव हुन्छ । यसलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन राजनीतिक दल, दलका उम्मेदवार, मतदाता र सरकारले आचारसंहिता पालना गर्नैपर्ने हुन्छ । सबैको उत्तिकै दायित्व हुन्छ । तर निर्वाचनसम्बन्धी आचारसंहिता लागू गराउनमा संवैधानिक निकायको हैसियतमा रहेको निर्वाचन आयोगको सबैभन्दा बढी जिम्मेवारी हुन्छ । आचारसंहिता कडाइका साथ पालना गराउन सके निर्वाचन निष्पक्ष हुने मात्र होइन, आयोगको भूमिकाप्रति पनि विश्वास र भरोसा बढ्छ । आचारसंहिता पालना गरी सम्पन्न भएको निर्वाचन अभ्यासले सभ्य मुलुकको परिचय पनि दिन्छ ।