निर्वाचनमा सहभागी हुँदैनौं : राजपा

राजधानी संवाददाता / परासी

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरूले आफूहरूको माग सम्बोधन नभएसम्म कुनै हालतमा निर्वाचनमा सहभागी नहुने उद्घोष गरेका छन् । राजपा नेपालले परासीमा गरेको विरोध सभामा बोल्दै शीर्ष नेताहरूले सरकारले आफुहरूलाई पटकपटक झुक्याएको बताए । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफैंले समर्थन गरेको सरकारले माग पूरा गर्ने वाचाबाट भागेपछि आन्दोलनमा होमिनुपरेको बताए ।

उनले सरकारले प्रदेश–२ को निर्वाचन राजपाको सहमतिमा सारेको भन्ने समाचार पनि गलत रहेको दाबी गरे । अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले प्रदेश–२ मा निर्वाचन सारेर मधेसलाई छुट्ट्याउन खोजिएको आरोप लगाए ।

अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले माग सम्बोधन नभएसम्म चुनावमा सहभागी नहुने बताए । अर्का अध्यक्ष मण्डलका सदस्य अनिल झाले आइतबारको उम्मेदवारी मनोनयन बहिष्कार गर्ने चेतावनी दिए ।