उपचार सहज होस्

उपचार सहज होस्

राजधानीका हरेकजसो अस्पतालमा बिहानैदेखि बिरामीको भीड लागेको देख्दा जनसंख्याको अनुपातमा अस्पताल संख्या थोरै भएको आभास हुन्छ, काठमाडौंका वीर, शिक्षण, निजामतीलगायत सरकारी अस्पतालमा टिकटका लागि बिहानैदेखि भीड सुरु हुन्छ । टिकट काउन्टर मात्रै होइन, एक्स–रे, रगत जाँच र शुल्क तिर्ने ठाउँमा पनि बिरामीको भीड उत्तिकै देखिन्छ । जनसंख्याको अनुपातमा अस्पताल थोरै भएपछि भीड देखिनु अस्वाभाविक होइन । सरकारी अस्पतालको तुलनामा निजी अस्पतालको सेवा १०औं गुणा महँगो हुने भएकाले पनि आमसर्वसाधारणको भीड सरकारी अस्पतालमा बढेको देखिन्छ । कतिपय सरकारी अस्पतालमा बिरामीको चापअनुरूप बेड र स्वास्थ्यकर्मी नहुँदा पनि बिरामीले सास्ती पाएका छन् ।

अहिले सरकारी अस्पतालमा जुन चाप देखिएको छ । यसैबाट स्पष्ट हुन्छ, मध्यमवर्गीय र निम्नमध्यम वर्गीय परिवारका सदस्यलाई उपचार सहज छैन । अस्पतालहरूले दैनिक विभिन्न सेवा उपलब्ध गराए पनि बिरामीको चाप नघटेकाले अस्पतालमा बिरामीको लाइन देखिएकोमा शंका रहेन । अस्पतालमा देखिने अत्यधिक भिडले बिरामीले राम्रो सेवा नपाएको गुनासो गर्छन् भने स्वास्थ्यकर्मीले पनि बिरामीको चाप धेरै भएको गुनासो गर्ने क्रम छँदै छ । अस्पतालमा बिरामीको चाप धेरै भएकै कारण बिरामीपछि उपचारका लागि अस्पताल धाउनेहरूले सास्ती बेहोर्न परेको छ । कतिपय अस्पतालको भीड देख्दा लाग्छ सरकारी अस्पतालमा गएर उपचार गर्न सर्वसाधारणले ठूलै ‘युद्ध’ जित्न पर्छ । बिहान सबेरै नगए त टिकट नपाउने पक्का छ नै, घन्टौं लाइन बस्दासमेत टिकट नपाएर फर्किनुपर्ने बाध्यता छ । ओपीडी मात्रै होइन, धेरै अस्पतालको इमर्जेन्सी कक्षमा समेत बिरामीको उस्तै भीड लाग्ने गरेको छ । सामान्य अवस्थामा त यति विघ्न भीड हुन्छ भन्ने सामान्य महामारी आउँदा कति समस्या हुन्छ, सोझै अनुमान गर्न सकिन्छ ।

अहिले अस्पतालमा जुन भीड देखिएको छ । यो भीड अन्त्यका लागि अस्पतालहरूले सेवा बढाउनु नै अन्तिम विकल्प देखिएको छ । सेवा विस्तारजस्तो कार्य सहजै सम्भव हुन्न ।कुनै पनि अस्पतालको सेवा विस्तार त्यतिबेला सम्भव हुन्छ । जहाँ बिरामी सुत्ने बेडरुमदेखि बिरामी जाँच गराउने कोठाहरूसमेत वृद्धि गर्नुपर्ने हुन्छ । अहिले सञ्चालनमा रहेका अस्पतालमा तत्काल ती सेवा विस्तार सम्भव छैन । सरकारले स्वास्थ्य सेवालाई आमनागरिकको अत्यावश्यकीय आवश्यकताको सूचीमा राखे पनि व्यवहारमा कार्यान्वयन नगरिदिँदा बिरामी समस्यामा परेका छन् । यसका लागि केही अस्पतालमा केही बेड थपेर मात्र हुँदैन । तत्कालै ठूला अस्पताल बनाउन पहल गर्नुपर्छ । काठमाडौंको तुलनामा काठमाडौंबाहिर राम्रा अस्पताल थोरै भएकाले पनि कतिपय बिरामीले उपचारका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता छ । सरकारले मोफसलका सहरमा पनि सुविधासम्पन्न अस्पताल खोल्ने पहल तत्कालै गर्ने हो भने गम्भीर रोग लागेका
बिरामीको उपचार मोफसलमै सम्भव हुन्छ र आफ्नै क्षेत्रमा बिरामीले उपचार सेवा पाउनेछन् ।