झडपमा एमाले कार्यकर्ताको मृत्यु

बाजुरा / रास– मनोनयन दर्ताका गर्न मतदान अधिकृतको कार्यालयमा जाने क्रममा छेडेदह गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताहरूबीच भएको दोहोरो झडपमा परी एक जनाको मृत्यु भएको छ ।

झडपमा घाइते भएका छेडेदह–६ का ५५ वर्षीय एमाले कार्यकर्ता हंस रावतको जिल्ला सदरमुकाम मार्तडी ल्याउँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी दलबहादुर बोगटीका अनुसार झडपमा दुवैतर्फका कार्यकर्ता घाइते भएका छन् । कांग्रेसका १८ र एमालेका १४ कार्यकर्ता घाइते भएका छन् ।

दुवैपार्टी घटनामा एकअर्कालाई दोषी देखाएका छन् । मनोनयन दर्ता गर्ने ठाउँमा गाडीमा जाँदै गर्दा एमाले कार्यकताले साँधी गाउँ भन्ने ठाउँमा झन्डा गाढेर गाडी रोकेका कारण विवाद सुरु भएको कांग्रेसका महाधिवेशन प्रतिनिधि पदमबहादुर शाहीले बताए ।

यता एमालेले भने आफूहरू खाना खाइरहेको ठाउँमा आक्रमण गरेका कारण झडप भएको बताएको छ ।