विखण्डनकारी गतिविधि स्वीकार्य हुँदैन : सेना

टपेन्द्र कार्की / काठमाडौं

नेपाली सेनाले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नभएको जनाएको छ ।केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तŒवहरू सक्रिय हुँदै आएको उल्लेख गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्यस्ता गतिविधि सह्य नभएको बताए ।

‘हाल राष्ट्रिय सुरक्षाको दृष्टिले देशमा उत्पन्न चुनौतीबारे चर्चा गर्दै नेपालको राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामा आँच पुग्ने कुनै पनि प्रकारका गतिविधिहरू नेपाली सेनाका लागि कदापि स्वीकार्य नहुने कुरा उल्लेख गर्नुभयो,’ प्रधानसेनापति क्षत्रीको भनाइ उद्धृत गर्दै सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान तरल परिस्थितिको फाइदा उठाउँदै केही विखण्डकारी तथा राष्ट्रिय अस्थिरता पैदा गर्ने तŒवहरू सक्रिय हुँदै आएको हुँदा यसको समाधान राजनीतिक तहबाट नै हुनुपर्ने र संविधानले निर्दिष्ट गरेको आफ्नो जिम्मेवारी पूरा गर्न नेपाली सेना कदापि पछि नहट्ने कुरा उपस्थित रथीवृन्दलाई जानकारी गराउनुभयो ।’ सेनाले राजनीतिक मागहरू राजनीतिक तहबाटै हुनुपर्नेमा पनि स्पष्ट पारेको छ ।

जंगी अड्डामा आयोजित भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्री ।

पूर्वप्रधानसेनापतिहरू तथा बहालवाला एवं अवकाश प्राप्त रथीवृन्दसँग आइतबार जंगी अड्डामा भएको अन्तक्र्रियामा प्रधानसेनापति क्षत्रीले संविधानले निर्दिष्ट गरेको जिम्मेवारी पूरा गर्न सेना कदापि पछि नहट्ने स्पष्ट पारे ।

मधेसमा सीके राउतलगायतका केही विखण्डनकारीले मुलुकको अखण्डतामा आँच पु¥याउन खोजिरहेका बेला प्रधानसेनापति क्षेत्रीको यस्तो अभिव्यक्ति आएको हो । स्थानीय तहको निर्वाचन भइरहेको बेला पनि सीके राउत समूहले मधेसवादी दल राष्ट्रिय जनता पार्टीलाई सहयोग गर्ने किसिमको वक्तव्य जारी गरेको थियो ।

यसअघि पनि प्रधानसेनापति क्षत्रीले राष्ट्रिय अखण्डतालाई आँच पु¥याउन गतिविधि भए सेना चुप लागेर नबस्ने धारणा सार्वजनिक गर्दै आएका थिए ।

कार्यक्रममा पूर्वसेनापतिहरूले तरल राजनीतिको फाइदा उठाउँदै राष्ट्रियतामा आँच पुग्ने गतिविधि हुन सक्ने भन्दै सेना सजग हुनुपर्ने सुझाव दिएका थिए । राजनीतिक मागका आडमा हुन सक्ने राष्ट्रिय अस्थिरता तथा आपराधिक गतिविधिमा सेनाको विशेष निगरानी र तयारी हुनुपर्ने उनीहरूको धारणा थियो । सैनिक प्रवक्ता एवं सहायक रथी झंकर कठायतका अनुसार पूर्वप्रधानसेनापतिले समसामयिक विषयमा धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले समयसापेक्ष नेपाली सेनाको सुदृढीकरण तथा क्षमता विकास गर्ने क्रममा सांगठनिक संरचनालाई व्यावहारिक तथा थप प्रभावकारी बनाउने उद्देश्यले प्रस्तावित संशोधित पुनढाँचा सरकारबाट स्वीकृत भई लागू भइसकेको र संगठनको दक्षता विकासका लागि आवश्यक साधन तथा स्रोतको व्यवस्थापन भइरहेको बारे पनि जानकारी गराइएको थियो । सरकारले नेपाली सेनाको पुनःसंरचना गर्ने भन्दै सातै प्रदेशमा पृतना राख्ने निर्णय गरेको थियो । अत्यावश्यक सैनिक सामग्रीका लागि नेपाली सेनालाई आत्मनिर्भर बनाउने प्रयास भइरहेको पनि सेनापति क्षत्रीले जानकारी गराएका थिए । कार्यक्रममा वर्तमान सुरक्षा स्थितिको विश्लेषण, नेपाली सेनाबाट भइरहेका गतिविधि, नेपाली सेनाको वर्तमान संगठन संरचना तथा कल्याणकारी गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।