ऐतिहासिकता कायम भयो : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रयोजनका लागि भएको उम्मेदवारी मनोनयनले ऐतिहासिकता कायम गरेको बताएका छन ।

प्रमुख निर्वाचन आयुक्त यादवले आइतबार साँझ राजधानीसँग स्थानीय तह दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि भएको उम्मेदवारी मनोनयनले ऐतिहासिकता कायम गरेको बताएका हुन् । ‘दोस्रो चरणको निर्वाचनको प्रयोजनका लागि आइतबार भएको उल्लास पूर्ण उम्मेदवारी मनोनयन दर्ताले ऐतिहासिकता कायम गरेको छ, सबै दल तथा स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका उम्मेदवारहरूलाई धन्यवाद दिन चाहन्छु,’ प्रमुख आयुक्त यादवले भने ।

उनले मनोनयन दर्ताका क्रममा सबै राजनीतिक दलहरूका तर्फबाट उच्च लोकतान्त्रिक व्यवहार प्राप्त भएको बताए । ‘सबै दलका तर्फबाट उच्च लोकतान्त्रिक व्यवहार स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मनोनयनका क्रममा भएको छ,’ उनले भनेका छन् । प्रमुख आयुक्त यादवले सबै स्थानीय तहका प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता भएको बताए ।