मनोनयन शान्तिपूर्ण र उल्लासमय

महेश्वर गौतम / काठमाडौं

स्थानीय तह निर्वाचनअन्तर्गत १४ असारमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आइतबार उल्लासपूर्ण रूपमा उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगले दलहरूबीचको सहमतिपछि परिवर्तन गरेको कार्यतालिकाअनुसार आइतबार तीनै प्रदेशका कुल ३ सय ३४ स्थानीय तहमा दलका तर्फबाट तथा स्वतन्त्र रूपमा उम्मेदवारीका लागि उम्मेदवारहरूले आआफ्नो स्थानीय तहको केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय पुगि मनोनयन दर्ता गराएका हुन् ।

आइतबार भएको उम्मेदवारी मनोनय तीनै प्रदेशमा उल्लास पूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रयोजनका लागि तिनै प्रदेशमा उल्लासपूर्ण रूपमा दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएको बताए ।

आइतबार बिहान ८ बजेबाट सुरु भएको उम्मेदवारी मनोनयन दर्ता अपराह्न ४ बजेसम्म चलेको थियो । उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

दोस्रो चरणअन्तर्गत प्रदेश १, ५ र ७ मा हुने निर्वाचनमा तीनवटै प्रदेशमा गरी एक महानगरपालिका, सात उपमहानगर, १ सय ११ नगरपालिकाका लागि प्रमुख तथा उपप्रमुख पदमा उम्मेदवारी दिएका छन् । यस्तै २ सय १५ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि समेत मनोनयन दर्ता भएको छ । १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ । दोस्रो चरणको निर्वाचनमा निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् ।

कार्यतालिकाअनुसार आयोगले मनोनयनपत्र दर्ता भएपछि आइतबार नै उम्मेदवारको सूची प्रकाशन गर्ने समय तोकेको थियो । यस्तै उम्मेदवारको विरोधमा उजुरी दिन सोमबार आज बिहान ८ देखि १० सम्मको समय निर्धारण गरेको छ भने मनोनयन जाँचसमेत आज नै हुनेछ । यस्तै उम्मेदवारी फिर्ता लिन मंगलबार बिहान ८ देखि ११ बजेसम्मको समय तोकिएको छ । अन्तिम नामावली प्रकाशनसमेत मंगलबार नै सक्ने आयोगको कार्यतालिका छ । उम्मेदवारी दर्ता गराएका स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी हुने उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत सोही दिन नै प्रदान गरिने आयोगले जनाएको छ । यी सबै प्रक्रिया सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, गाउँपालिका र नगरपालिकाका केन्द्रमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयहरूमा हुने आयोगले बताएको छ ।

यसअघि पहिलो चरणअन्तर्गत ३१ वैशाखमा तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ । सरकारले प्रदेश–२ को निर्वाचन भने २ असोजका लागि सारिसकेको छ ।

ठाउँठाउँमा बागी उम्मेदवारी

दोस्रो चरणअन्तर्गतको स्थानीय तह निर्वाचन प्रयोजनका लागि आइतबार भएको उम्मेदवारी मनोनयन दर्ताका क्रममा विभिन्न ठाउँमा दलको तर्फबाट उम्मेदवार तोकिएका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

एमाले अध्यक्ष केपी शार्मा ओलीको गृह जिल्ला झापाको दमक नगरपालिका वडा ३ को वडाध्यक्षमा एमालेविरुद्ध बागी उम्मेदवार परेको छ । एमालेका कार्यकर्ता तेजस्वी थेबेले एमालेका वडा ३ का अध्यक्ष पदका आधिकारिक उम्मेदवार नवीन बरालविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

यस्तै दाङको लमही नगरपालिका र गढवा गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । लमही नगरपालिकाको प्रमुखमा डिल्लीबहादुर खड्का र गढवा गाउँपालिकाको अध्यक्षमा डिल्ली आचार्यले पार्टीले तोकेको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । खड्का कांग्रेस नेता खुमबहादुर खड्काका नातेदारसमेत हुन् । पार्टीको निर्णयअनुसार लमही नगरपालिकाको प्रमुखमा कांग्रेसका खुमबहादुरनिकट मानिने जोगराज चौधरी र उपप्रमुखमा देवका बेलबासेको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी गढवा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीपत चौधरी र शकुन्तला डीसीले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै सो स्थानमा डिल्ली आचार्यले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।