६१ करोड रुपैयाँ बिगोको भ्रष्टाचार मुद्दा दायर

यातायात कार्यालय इटहरीको अनियमिततामा तत्कालीन तीन उपसचिवसहित आठ प्रतिवादी

राजधानी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमा उठेको ६१ करोड राजस्व अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात कार्यालय इटहरीमा भएको अनियमिततामा तत्कालीन तीन उपसचिवसहित आठ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि २०७१ साउनदेखि २०७३ फागुनसम्म सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागजातका आधारमा अनियमितता गरेको आरोप छ ।

आव २०७१÷७२, २०७२÷७३ र २०७३÷७४ फागुन मसान्तसम्मको अवधिमा ६१ करोड २१ लाख २८ हजार ५ सय पचपन्न रुपैयाँ २० पैसा राजस्व हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ ।

आव २०७१÷७२ मा ६५ करोड ७१ लाख १५ हजार ८ सय ८९,  आव २०७२÷७३ मा ८४ करोड १९ लाख ४ हजार २ सय ४८  र आव २०७३÷७४ को फागुन मसान्तसम्ममा ८४ करोड ७ लाख ९७ हजार ८ सय २७ रुपैयाँ राजस्व आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ । तर सोही अवधिमा आव २०७१÷७२ मा ६१ करोड ७७ लाख ९६ हजार ३ सय २१, आव २०७२÷७३ मा ५७ करोड ७० लाख ३२ हजार ४ सय ५८ र आव २०७३÷७४ को फागुन मसान्तसम्ममा ५३ करोड २८ लाख ६० हजार ६ सय २९ मात्र बैंक दाखिला भएको थियो ।

कार्यरत अवधिअनुसार उपसचिव रमेशप्रसाद दाहालउपर १२ करोड ३० लाख ३२ हजार २ सय दुई, उपसचिव विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख ५७ हजार ३ सय ५४,  उपसचिव नयराज नेपालउपर २५ करोड १३ लाख ३८ हजार ९ सय ९९, लेखा अधिकृत कुमारबहादुर कट्वालउपर २ करोड १४ लाख ७८ हजार ६ सय २३ र लेखा अधिकृत टीकाराम अधिकारीउपर ५७ करोड २५ लाख २७ हजार ५ सय ७६ बिगो दाबी गरिएको छ । त्यस्तै अख्तियारले लेखापाल सुरेश अधिकारीउपर ६१ करोड २१ लाख २८ हजार ५ सय ५५  लेखापाल देवराज नेपालविरुद्ध ४५ लाख ६१ हजार ९९ हजार ७ सय ४८, लेखापाल रुद्रप्रसाद दाहालउपर २१ करोड ६३ लाख ४७ हजार ४ सय ५३ रुपैयाँ बिगो दाबी गरेको छ ।अञ्चलस्तरको कार्यालयमा भएको यो सम्भवतः ठूलो भ्रष्टाचारको मुद्दा हो ।

कर फस्र्योट आयोगका दुई सदस्यलाई पक्राउ आदेश

काठमाडौं / रास– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फस्र्योट आयोगका दुई सदस्यलाई पक्राउ आदेश जारी गरेको छ । २०७१ सालमा गठन भएको कर फस्र्योट आयोगका दुई पदाधिकारीविरुद्ध आयोगले पक्राउ पूर्जी जारी गरेको हो ।

एक साताअघि नै आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पक्राउ गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयमा पत्र पठाइसकेको भए पनि अहिलेसम्म पक्राउ परेका छैनन् । गत आइतबार अख्तियारले उनीहरूको घरमा पत्र पठाएर आयोगमा उपस्थित हुन आग्रह गरेको भए पनि उनीहरू नआएपछि प्रहरी प्रधान कार्यालयमार्फत पक्राउ गर्न आयोगले पत्र पठाएको हो । २१ अर्ब रुपैयाँ कर मिनाहा गरिदिएको घटनाको अनुसन्धान गरिरहेको आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेर बयान लिइरहेको छ । बयानकै क्रममा महत र ढकाललाई अख्तियारले पनि बोलाएको थियो ।