फरार अभियुक्त पक्राउ

काठमाडौं / रास– जिउ मास्ने, बेच्ने मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवन खैरेनी–१३ बस्ने नुवाकोट साल्मे गाविस–५ का ५३ वर्षीय रामबहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले चितवन खैरेनीबाट पक्राउ गरेको हो ।

तामाङसमेत भएको जिउ मास्ने बेच्ने मुद्दामा धादिङ जिल्ला अदालतको २४ जेठ २०६७ को फैसलाले तामाङलाई १५ वर्ष कैद र १७ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । जसमा सो सजाय बेरुजु भई हालसम्म फरार रहेको अवस्थामा ब्युरो टोली उनलाई पक्राउ गर्न सफल भएको हो ।

तामाङले २१ पुस २०४८ एक महिलालाई ‘विवाह गर्छु’ भनी फकाइ धादिङबाट लिई हिँडेको र उनीसमेत अन्य तीन जना मिलेर महिलालाई झुक्याई चितवन नारायणगढ हुँदै कञ्चनपुर वनवासा नाकाबाट भारत मुम्बईस्थित वेश्यालयमा पु¥याई १७ हजार रुपैयाँमा बिक्री गरी रकम तीनै जनाले बाँडेर लगेका थिए ।