मधेसवादी नेता एमालेमा प्रवेशको होडबाजी , राजपाकी यादव फर्किइन्

सुभाष साह / काठमाडौं

‘मधेस विरोधी’ भनेर व्याख्या गरिएको एमालेमा मधेसवादी दलकै शीर्ष नेता प्रवेशको होडबाजी चलेको छ । राष्ट्रिय जनता पार्टी नेपाल कोषाध्यक्ष अनिता यादव एमालेमा प्रवेश गरेकी छन् । एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार यादव राजपा परित्याग गर्दै एमाले प्रवेश गरेकी हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायताले यादवलाई पार्टी प्रवेश गराएका थिए । यादवले आफूले मधेसमा शान्ति, सद्भाव र समृद्धिको राजनीति गर्न चाहेको बताउ“दै राजपा नेपालबाट त्यो सम्भव नभएको उल्लेख गरिन् । मधेस मुद्दालाई सही रूपमा सम्बोधन गर्ने पार्टी एमाले मात्र रहेकाले फर्केको उनले बताइन् ।

‘मधेस मुद्दाको नाममा मधेसमा उपद्रो मच्चाउने काम भयो, मधेसमा क्षति पु¥याउने काम भएको छ,’ यादवले भनिन्, ‘धार र धारणा तालमेल नहु“दा मधेसका जनताले दुःख पाएका छन्, शान्ति, सद्भाव र समृद्धिका लागि राजपा छोडनुको विकल्प भएन ।’

२४ वर्षदेखि राजनीतिमा सक्रिय यादवले एमालेबाटै राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०६४ सालमा एमाले परित्याग गरी मधेसको नाममा खुलेको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीमा गएकी यादवले १० वर्षपछि एमालेमै फर्किंदा आफ्नो घरमा आएको बताइन् ।

तमलोपाका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी अनिता पतिको निधनपश्चात् सक्रिय राजनीतिमा होमिएकी हुन् । श्रीकृष्णको ८ माघ २०६६ मा मकवानपुर भीमफेदीमा सवारी दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा सक्रिय भएको र तमलोपा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।

तमलोपासहित विभिन्न ६ मधेसवादी दल एकीकरण भई हालै राष्ट्रिय जनता पार्टी नेपाल बनेको छ । जो संविधान संशोधन, स्थानीय तह संख्या जनसंख्याको आधारमा पुनःसंरचना हुनुपर्नेलगायतका माग गर्दै स्थानीय निर्वाचन बहिष्कारमा लागेको छ ।

यादव दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा क्षेत्र नम्बर ५ को उम्मेदवार भएकी थिइन् । १० हजार मत ल्याएकी यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।

यादवलाई एमालेमा प्रवेश गराउँदै पार्टी अध्यक्ष ओलीले यो तपाईंको पुरानै घर हो भन्दै स्वागत गरे । ओलीले प्रदेश–२ मा एमाले सबैभन्दा ठूलो दल बन्ने दाबीसमेत गरेका छन् ।

एमालेलाई मधेस विरोधीका रूपमा व्याख्या भइरहेका बेला मधेसवादी दलका शीर्ष नेता एमालेमा प्रवेश गर्न थालेपछि आफ्नो पार्टी मधेसमा ठूलो दल बन्ने विश्लेषण एमाले नेताले गरेका छन् । यसअघि तत्कालीन तमलोपा सहमहामन्त्री कासिम मियाँ अन्सारी पनि राजपा परित्याग गरी एमाले प्रवेश गरिसकेका छन् ।

त्यस्तै नेकपा क्रान्तिकारी महासचिव प्रमोदनारायण यादवसहित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी नै जेठ अन्तिम साता एमाले प्रवेश गरिसकेका छन् । यसैगरी संस्कृतविद् रमेश रञ्जन झासमेत एमाले प्रवेश गरिसकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं नाट्य विभाग प्रमुखसमेत रहेका झा यसअघि एमाले परित्याग गरी माओवादी केन्द्रमा गएका थिए ।

राष्ट्रिय एकता, स्वाभिमान, आर्थिक समृद्धिलगायतका मुद्दामा अडान लिएर अघि बढिरहेको एमालेमा अहिले मधेसवादी दलबाट प्रवेश गर्नेको होडबाजी चलेको छ ।