राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभाबाट आइतबार स्वदेश फर्किएकी छन् । जेनेभामा आयोजित १०६औं अन्तर्राष्ट्रिय श्रमको ‘काममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्न उनी त्यहाँ गएकी थिइन् । राष्ट्रपति भण्डारीको जेनेभा भ्रमण अत्यन्त फलदायी भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए ।

राष्ट्रपति भ्रमण टोलीमा जेनेभा गएका बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालले पहिलो राष्ट्राध्यक्ष स्तरबाट अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन भएको बताए ।

नेपालसहित माल्टा र मरिससका महिला राष्ट्राध्यक्षले पनि सम्बोधन गरेको सम्मेलनमा ‘भेदभाव तथा असमानताको जगमा कुनै पनि समाज लामो समयसम्म उभिन नसक्ने’ बताउँदै ‘महिलाविरुद्धको भेदभाव अन्त्य हुनैपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिएको परराष्ट्रसचिव बैरागीले जानकारी दिए ।

‘राष्ट्रपति भण्डारीले महिलाको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सबलीकरण नभएसम्म समतामूलक, न्यायोचित तथा शान्तिपूर्ण समाज कल्पना गर्न नसकिने सम्मेलनमा राख्नुभयो,’ उनले भने ।

सम्मेलनपूर्व आईएलओका महानिर्देशक गाय राइडर र राष्ट्रपति भण्डारीबीच शिष्टाचार भेट भएको थियो । सोही अवसरमा नेपाल आईएलओ सहकार्यको ५० वर्ष उपलब्धिमूलक रहेकामा सन्तोष व्यक्त गर्दैै नेपालमा आईएलओको सहयोग थप विस्तार गर्ने विषयमा महŒवपूर्ण छलफल भएको छ ।

आईएलओका महानिर्देशकले प्रमुख अतिथि नेपाल, माल्टा र मरिससका राष्ट्राध्यक्षको सम्मानमा दिवा भोज आयोजना गरेको सम्मेलनपूर्व तीनै महिला राष्ट्राध्यक्षलाई आईएलओ मुख्यालयमा महानिर्देशक राइडरले स्वागत गरेका थिए ।

जेनेभा भ्रमण क्रममा राष्ट्रपतिले युरोपियन काउन्सिल फर न्युक्लियर रिसर्च (सेर्न) भ्रमण गरी अणु भौतिक शास्त्र क्षेत्रमा भएका अनुसन्धानबारे जानकारी लिएकी थिइन् । सेर्नको गभर्निङ काउन्सिलले एक दिनअघि मात्र नेपालसँगको साझेदारी सम्झौता गर्ने प्रक्रियालाई अन्तिम रूप दिएको थियो ।दुवै पक्षबाट हस्ताक्षर भएपछिनेपाल र सेर्नबीचको सहयोगले औपचारिकता पाउँनेछ ।

सेर्नमा हुने उच्चस्तरका वैज्ञानिक शोध र अनुसन्धानबाट नेपालजस्ता मुलुकले सूचना प्रविधि एवं चिकित्सा विज्ञानमा लाभ उठाउन सक्ने भएको छ । यसबाट नेपालका वैज्ञानिकलाई तालिम तथा अध्ययन अनुसन्धानको अवसर प्राप्त हुन सक्ने विश्वास लिइएको छ ।

राष्ट्रपति भण्डारीले इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचर (आईयूसीएन) को मुख्यालयको भ्रमण गरी वातावरण संरक्षणमा नेपाल र आईयूसीएनबीचको लामो सहकार्यबारे चर्चा गरेको सचिव बैरागीले जानकारी दिए । उनका अनुसार भण्डारीले स्विट्जरल्यान्डमा रहेका नेपाली समुदायसँग समेत अन्तक्र्रिया गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मुख्यसचिव डा. सोमलाल सुवेदीलगायतले स्वागत गरेका थिए ।