५ हजार बढी सुरक्षाकर्मी खट्ने

कपिलवस्तु / रास– आगामी १४ असारका दिन हुने स्थानीय तह निर्वाचनमा कपिलवस्तुमा ५ हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् । जिल्ला सुरक्षा समितिले बनाएको योजनाअनुसार निर्वाचनलाई शान्तिपूर्वक रूपमा सम्पन्न ३ तहमा सुरक्षाकर्मी परिचालन गरिनेछन् ।

नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरी तथा राष्ट्रिय अनुसन्धानका गरी जिल्लाका १० तहको निर्वाचनमा ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी  विष्णु ढकालले बताए । निर्वाचनको बहिष्कार गर्ने घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, संविधान संशोधनको माग राख्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टी र सिके राउतका कार्यकर्तालाई सुरक्षाको दृष्टिकोणले मुख्य चुनौतीका रूपमा लिइएको प्रजिअ ढकालले बताए । निर्वाचनमा दोस्रो चरणको स्थानीय तहको चुनावलाई लक्षित गर्दै सुरक्षाको दृष्टिकोणले जिल्लालाई तीन भागमा वर्गीकरण गरिएको छ । सुरक्षा समितिको बैठकले १ सय ५३ मतदान केन्द्रलाई अति संवेदनशील, ६५ स्थानलाई संवेदनशील र १५ मतदान स्थललाई सामान्य गरी वर्गीकरण गरिएको छ । निर्वाचन लक्षित सुरक्षा अवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ ढकालले बताए ।

चुनाव बहिष्कार गर्ने पार्टी, चुनाव विरोधी गतिविधि गर्ने समूह र खुला सिमानाका कारण हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको उनले बताए ।