पर्यटक बढे

काठमाडौं / रास– नेपाल भ्रमणमा आउने पर्यटकको आगमनमा वृद्धि भएको छ । विगत एक दशकको पर्यटक आगमनको तथ्यांक हेर्दा बिदा, मनोरञ्जन, यात्रा, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्रासम्बन्धी उद्देश्यले आउने पर्यटकको अनुपात दुई तिहाइभन्दा बढी छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३÷७४ अनुसार सन् २०१६ मा नेपाल आएका कुल पर्यटकमध्ये ६५ प्रतिशतले बिदा, मनोरञ्जन, यात्राको उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।

यस्तै, ११ प्रतिशत तीर्थयात्रा, आठ दशमलव ८३ प्रतिशत पर्वतारोहण÷पदयात्रा, तीन दशमलव २३ प्रतिशत व्यापार, दुई दशमलव ८३ प्रतिशत कार्यालयसम्बन्धी, एक दशमलव सात प्रतिशत सभा÷सम्मेलन र सात दशमलव ४१ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् । सन् २०१६ मा ७ लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।