पेट्रोल भण्डारण क्षमता वृद्धि

राजधानी समाचारदाता / काठमाडौं

नेपाल आयल निगमले राजधानीको थानकोटस्थित इन्धन भण्डारण डिपोमा पेट्रोल भण्डारण क्षमतामा वृद्धि गरेको छ । मट्टीतेलको माग घटेपछि नेपाल आयल निगमले मट्टीतेलको भण्डारण ट्यांकी खाली गरेर त्यसमा पेट्रोल भण्डारण गर्न थालेको हो ।

नेपाल आयल निगमका अनुसार यसअघि १ हजार ८ सय किलो लिटर पेट्रोल भण्डारण क्षमता रहेकामा त्यसलाई बढाएर ६ हजार किलो लिटर पु¥याइएको छ । निगमका प्रवक्ता सीताराम पोख्रेलले २१÷२१ सय किलो लिटर क्षमताका दुईवटा मट्टीतेलका ट्यांकी खाली गरेर त्यसमा पेट्रोल भण्डारण गरिन लागेको बताए । ती दुईवटा ट्यांकी खाली गर्न भारतबाट प्राविधिक मगाएको उनले बताए ।

योसँगै राजधानी काठमाडौंमा मात्रै करिब ६ हजार किलो लिटर पेट्रोल भण्डारण हुन थालेको छ । मट्टीतेलको ट्यांकीमा पेट्रोल भण्डारण गर्न थालेसँगै अब एक दिन बन्द हुनेबित्तिकै लाम लागन पर्ने अवस्था नआउने आयल निगमले अपेक्षा गरेको छ । यसै सातादेखि भण्डारण गर्न लागेको पेट्रोलले यसअघिका दिन जस्तो एक दिन बिदा हुनेबित्तिकै लाममा बस्नुपर्ने अवस्था नआउने अपेक्षा गरिएको प्रवक्ता पोख्रेलको भनाइ छ ।

हाल काठमाडौं उपत्यकामा दैनिक ४ सयदेखि ५ सय किलो लिटर पेट्रोल र ५ सयदेखि साढे ५ सय किलो लिटर डिजल खपत हुँदै आएको निगमले जनाएको छ । राजधानीस्थित थानकोट डिपोमा हाल ८ हजार ४ सय किलो लिटर डिजेल भण्डारण गर्ने क्षमता रहेको छ । खाली गरिएको मट्टीतेल डिपोमा पेट्रोलबाहेक अन्य पेट्रोलियम पदार्थ भण्डारण नगरिने निगमले जानकारी दिएको छ ।

हाल आयल निगमले स्थानीय निर्वाचनलाई लक्षित गर्दै मुलुकभरिका सबै डिपोमा पेट्रोलियम पदार्थ भण्डारण करिब ५० हजार किलो लिटर गरेको जानकारी दिएको छ । हाल गरिएको यो भण्डारण १५ वर्षयताकै उच्च रहेको निगमका अधिकारीको भनाइ छ ।

यसैबीच नेपाल आयल निगमले मुलुकभरि नै भण्डारण क्षमता वृद्धि गर्नुका साथै मुलुकका विभिन्न स्थानमा जग्गा खरिद गर्ने काम अघि बढाएको छ । निगमले भण्डारण क्षमता वृद्धि गर्न भण्डारण गृह निर्माणका लागि चितवनमा २२ बिघा र झापा तथा सर्लाहीमा क्रमशः २०÷२० बिघा जग्गा खरिद गरिसकेको छ । यसका साथै अन्य स्थानमा पनि जग्गा खरिद प्रक्रिया अगाडि बढिसकेको निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।