माग र आपूर्ति सन्तुलन गर्न माग

राजधानी समाचारदाता / काठमाडौं

सुनचाँदी व्यवसायीहरूले सुनको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्र बैंकलाई व्यवसायीहरूका तर्फबाट सुझाव प्रस्तुत गर्दै उनीहरूले माग र आपूर्तिबीच चर्को असन्तुलन भएकाले आगामी मौद्रिक नीतिमार्फत त्यसलाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले सुनको माग र आपूर्तिबारे वस्तुपरक मागको आधारमा आपूर्तिको उचित परिमाण निर्धारण गरी हालको २० केजीको परिमाण बढाउनुपर्ने बताए । हाल सीमित आयातको नीति अवलम्बन गरिए तापनि अवैध आपूर्ति नियन्त्रण हुन नसकेकाले राज्यले वार्षिक अर्बांै राजस्व गुमाइरहेको उनको भनाइ छ । यस्तो अवस्था राष्ट्रका लागि हानिकारक भएकाले यसबारे गहन मूल्यांकन गरी अवैध आयात प्रभावकारी रूपमा नियन्त्रण गर्ने रणनीति अख्तियार गर्नु अति जरुरी रहेको उनले बताए । यसका लागि खुला बजार व्यवस्थाअनुसार सुनको आयातमा लागी आएको कोटा सिस्टमलाई हटाई आयात खुला गरिनुपर्ने महासंघको धारणा रहेको अध्यक्ष सुनारले बताए ।

विगतमा नेपाल सरकारबाट ओजीएल व्यवस्था लागू भई बैंक तथा व्यापारिक फर्म÷कम्पनी मार्फत सुनचाँदी आयात गरी सुलभ एवं प्रतिस्पर्धी मूल्यमा बिक्रीवितरण भइरहेकामा विदेशी मुद्राको सञ्चितीका कारण देखाई त्यसलाई हटाइएको उल्लेख गर्दै महासंघका अध्यष सुनारले अहिले विदेशी मुद्राको सञ्चितीसमेत पर्याप्त रहेकाले पुनः ओजीएलको व्यवस्था गर्न माग गरे ।

यो व्यवस्था लागू नहुँदा एकातिर बजारको मागअनुसार आपूर्ति सुलभ र सरल हुन नसकिरहेको र अर्कातिर मूल्य पनि प्रतिस्पर्धात्मक बन्न नसकिरहेको उनले बताए । हाल अनुकूल शोधनान्तर बचतको विदेशी मुद्राको सञ्चिती १३ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने रहेको अवस्था एवं भारतमा सुनको मूल्य नेपालको भन्दा कम भइरहेकोले सुनको चोरी निकासी सम्भव हुन नसक्ने अवस्थालाई समेत मनन गर्नुपर्ने देखिएको महासंघको ठहर छ ।

महासंघका महासचिव धर्मसुन्दर शाक्यका अनुसार सुनचाँदीको आयात प्रभावित हुँदा यसमा आश्रित २१ हजारभन्दा बढी व्यवसायी एवं २ लाख कर्मचारी र कालिगढीको परिवार गरी १० लाखभन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष प्रभावित हुन्छन् । त्यसैले यसलाई समयसापेक्ष सरलीकृत गर्दै लानुपर्ने देखिएको उनको भनाइ छ । नेपालमा आउने पर्यटकहरूले खरिद गर्ने उपहार सामानमा सुनचाँदीका गरगहना पनि उल्लेख्य मात्रामा पर्ने भएकाले यससम्बन्धी आयात, निर्यात तथा वितरण नीतिलाई सरल एवं व्यावहारिक बनाउन आवश्यक देखिएको महासचिव शाक्यले बताए ।

नेपाली गरगहना क्षेत्र आयातमुखी र उपभोगमुखी भएकाले कच्चा पदार्थको आयातमा मात्र बर्सेनि अर्बांै रकम विदेश गइरहेको छ । यस्तो प्रवृत्तिलाई परिवर्तन गरी गरगहना क्षेत्रबाट अर्थतन्त्रमा यथेष्ट लाभ लिन स्थानीय कच्चा पदार्थको अधिकतम उपयोग गर्नु जरुरी छ । भूगर्भमा रहेका बहुमूल्य तथा अर्ध बहुमूल्य रत्न तथा पत्थर प्रवद्र्धनका लागि राज्यले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने आवश्यकता रहेकाले यसमा निजी क्षेत्र तथा वैदेशिक लगानी प्रवद्र्धन गर्न आवश्यक पहल गर्नु उपयुक्त हुने महासंघको ठहर छ ।

महासंघले गरगहना व्यवसायलाई उद्योगका रूपमा मान्यता दिइ सेवा एवं निर्यातमूलक उद्योगले पाउने सहुलियत प्रदान गर्न समेत माग गरेको छ । बजारमा सिजनको बेला सुनको अभाव हुने र दैनिक कोटा निकै कम भएकाले कालोबजारी हुनुको साथै बजारमा सुनै नपाइने अवस्था बारम्बार सिर्जना हुने हुँदा यथासम्भव आयातलाई खुला गरिनुपर्ने महासंघको ठहर छ ।