एयरबस खरिदका लागि निगमले ८ अर्ब पठायो

मधुजंग पाण्डे / काठमाडौं

सरकारको जमानतपछि दुईवटा वाइडबडी एयरबस विमान खरिद गर्न २४ अर्ब रुपैयाँ जुटाएको नेपाल वायुसेवा निगमले बिक्रेता अमेरिकी कम्पनी एएआरलाई ८ अर्ब रुपैयाँ पहिलो किस्ताबापत पठाएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ८ अर्ब ऋण लिएर निगमले पहिलो किस्ताबापत गत शुक्रबार सो रकम पठाएको हो ।

गत आइतबार र सोमबार नयाँ विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लगानीका लागि निगम व्यवस्थापनले छुट्टाछुट्टै सम्झौता गरेको थियो । सञ्चय कोष र लगानी कोषले सरकारको जमानतमा एयरबस विमान खरिदका लागि ऋण उपलब्ध गराएका हुन् ।

यी दुवै कोषले निगमका लागि एउटाएउटा विमानका लागि ऋण उपलब्ध गराएका हुन् । यी दुवै निकायसँग निगमले आगामी १५ वर्षका लागि ऋण लिएको हो । वार्षिक ९ प्रतिशत ब्याजमा हरेक तीन÷तीन महिनामा किस्ता बुझाउने गरी ऋण सम्झौता गरिएको थियो ।

सञ्चय कोष र लगानी कोषसँग निगमले आगामी १५ वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजमा हरेक तीन–तीन महिनामा किस्ता बुझाउने गरी ऋण सम्झौता गरिसकेको छ ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारले गत शुक्रबार ८ अर्ब रुपैयाँ पहिलो किस्ता रकम एएआरलाई पठाएको जानकारी दिए । यसबाहेकको अन्य बाँकी रकम भने निगमले विमान आउने बेलामा मात्रै पठाउनेछ । दईवटा एयरबस विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकी डलर एवं २१ अर्ब ९० करोड रुपैयाँमा खरिद गर्न लागेको हो ।

निगमले दुवै विमान खरिदका लागि गत माघको दोस्रो साता नै बैनास्वरूप १० करोड ७० लाख रुपैयाँ पठाइसकेको छ । सन् २०१८ को मे र जुनमा दुवै विमान नेपाल ल्याइसक्ने निगमले दाबी गर्दै आएको छ । विमान खरिदका लागि पहिलो किस्ताबापत निगमले ७ करोड ९० लाख अमेरिकी डलर (८ अर्ब नेपाली रुपैयाँ) पठाएको हो । अब विमान आउने बेलामा मात्रै थप रकम पठाउने जानकारी गराउँदै उनले शुक्रबार ८ अर्ब पठाएको बताए । उनले पहिलो विमान सन् २०१८ को अप्रिलसम्म ल्याइसक्ने निगमको योजना रहेको बताए । निगमले गत मंगलबार पहिलो किस्ताबापतको वैदेशिक मुद्रा पठाउन नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको थियो ।

राष्ट्र बैंकले अनुमति दिएसँगै निगमले ८ अर्ब रकम एएआरलाई पठाएको हो । एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी विमान बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले गत २ माघमा अनुमोदन गरेको थियो । सोही निर्णयबमोजिम खरिद प्रक्रिया अघि बढेको थियो । आयरल्यान्डको हाइफ्लाई एक्सले एयरबस अर्डर गरेको विमान खरिद गर्न नसक्ने भएपछि अमेरिकाको एएआर कर्पोरेसनले सकारेर आपूmलाई बेच्न लागेको निगमले जनाएको थियो । सोहीअनुरूप हाइफ्लाइले एयरबसलाई विमान अर्डर गरेको बताइएको छ । गत २४ माघमा निगम र एएआरबीच नयाँ विमान खरिदको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

निगमले एयरबसको वाइडबडी ‘ए ३३०–२००’ विमान खरिदका लागि आह्वान गरेको अन्तर्राष्ट्रिय ग्लोबलको टेन्डरमा विभिन्न १० वटा कम्पनीले प्रस्ताव पेस गरेका थिए । पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाईले एयरबससँग खरिद अर्डर गरेको थियो । तर, हाइफ्लाई कम्पनी ऋणमा गएपछि विमान किन्न नसक्ने भयो र त्यो विमानलाई एएआरले सकारेर निगमलाई बेच्न लागेको हो । अहिले खरिद गर्न लागिएको एयरबस विमान फ्रान्सको टुलुज सहरमा रहेको छ ।