एनसेलको योन्डर क्याराओके प्रतियोगिता

काठमाडौं / रास– एनसेल प्राइभेट लिमिटेडले गीतसंगीतका पारखीका लागि ‘योन्डर क्याराओके’ प्रतियोगिता गर्ने भएको छ । उक्त प्रतियोगितामार्फत गीतसंगीत पारखीहरूले आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन् । जसबाट हरेक ४ साताासम्म सामसुङ ‘जे सेभन’ प्राइम मोबाइल फोन जित्न सक्ने कम्पनीको भनाइ छ । शनिबार काठमाडौंमा एक सांगीतिक समारोहको आयोजना गरी कम्पनीका प्रबन्ध निर्देशक साइमन पर्किन्सले उक्त प्रतियोगिताको घोषणा गरेका हुन् ।

एनसेलले आफनो पीआरबीटी तथा फोन सेवामार्फत गीत–संगीत क्षेत्रसँग रहेको सम्बन्धलाई थप विस्तार र परिष्कृत गर्दै गत १२ जेठमा लाखौं गीतमा निःशुल्क पहुँचको अवसर प्रदान गर्ने योन्डर म्युजिक एप ल्याएको थियो ।

यस एपमा स्न्याप क्याराओके जस्तो विषेशता रहेको छ । जसअन्तर्गत प्रयोगकर्ताले आफूलाई मन पर्ने गीतको ट्र्याकमा गीत गाएर आफ्नो क्याराओके भिडियोे बनाउन सक्नेछन् । २९ सेकेन्डसम्मको भिडियो अरू योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरूमा पनि सेयर गर्न सकिनेछ ।

एनसेलका ग्राहकले स्न्याप क्याराओकेमा आफ्नो गीत रेकर्ड गरी फेसबुक र इन्स्टाग्राममा ‘ह्यास माइस्न्याप क्याराओके विक १’ ट्यागसहित पोस्ट गर्नुपर्नेछ ।

क्याराओकेमा रेकर्ड गरिएका गीत सामाजिक सञ्जालमा पोस्ट गर्न हरेक साता ह्यास ट्याग छुट्टै हुनेछ । त्यसैगरी, दोस्रो हप्ताको क्याराओके प्रतियोगितामा सहभागिता जनाउन ग्राहकले ‘ह्यास माइस्न्याप क्याराओके विक २’ ट्याग गरेर गीतहरू पोस्ट गर्नु पर्नेछ । यो साप्ताहिक प्रतियोगिता सोमबारदेखि आइतबारको समय चक्रमा ४ हप्तासम्म सञ्चालनमा रहनेछ ।

प्रतियोगितामा प्रस्तोताले पोस्ट गरेको क्याराओके गीतले पाएको सबैभन्दा बढी लाइक र सेयरको आधारमा हरेक हप्ता १० उत्कृष्ट प्रस्तोता छानिनेछन् । उत्कृष्ट १० प्रस्तुतिमा पर्न स्पष्ट लेखिएको ह्यास ट्यागसहित कम्तीमा पनि सय लाइक पाएको हुनुपर्नेछ । चार जना कलाकार रहने यस योन्डर स्पोक आर्टिस्टको निर्णायक मण्डलले हरेक हप्ता एक उत्कृष्ट प्रस्तोताको छनोट गर्ने एनसेलले जनाएको छ ।