अमेरिकाले खसाल्यो सिरियाली लडाकु विमान

दमास्कस/एजेन्सी– अमेरिका नेतृत्वको गठबन्धन सेनाको लडाकु विमानले सिरियामा सरकारी सेनाको एक लडाकु विमान खसालेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले यसको पुष्टि गर्दै ‘सुखोई–२२’ लडाकु विमानले सिरियाली डेमोक्रेटिक फोर्सेस नजिक बमबारी गरेको र त्यसपछि एफ÷एस–१८ ई सुपर हर्नेले सो लडाकु विमान खसालेको जनाएको छ ।

सिरियामा सन् २०११ देखि सुरु भएको द्वन्द्वका क्रममा अमेरिकी गठबन्धनले सिरियाली विमान नष्ट गरेको यो पहिलो घटना हो । सिरियाले यस घटनाको निन्दा गर्दै यसको नतिजा गम्भीर हुने चेतावनी दिएको छ ।

उता ईरानको रिभोल्युशनरी गार्डसले आइतबार सिरियामा इस्लामिक स्टेटका लडाकु विमानलाई निशाना बनाउदै इरानबाट केही मिसाइल प्रहार गरिएको दाबी गरेको छ ।
सिरियाका ताबका कस्बे नजिकै सिरियाली डेमोक्रेटिक फौज आईएसविरुद्ध लडिरहेको छ । राक्का सहरमाथि कब्जा गर्नका लागि जारी अभियानअन्तर्गत यो लडाई चलिरहेको छ । कस्बा चरमपन्थीको गढ बनेको छ ।

सुखोई–२२ ले आइतबार कस्वे नजिकै बम खसालेको थियो । सन् १९९९ मा कोशोभो सैन्य अभियानपछि अमेरिकाले उडिरहेको लडाकु विमानलाई निशाना बनाएको यो पहिलो घटना हो । पेन्टागनले सरकार समर्थित फौज राक्कामा नलडेको र आसपासका इलाकामा मात्रै लडेको दावी गरेको छ । पेन्टागनले जारी गरेको वक्तव्यमा गठबन्धन सेना, सिरियाली सरकार, रुस समर्थित फौजका विरुद्ध नभई गठबन्धन सेनाको सुरक्षाका लागि यो कदम चालेको बताइएको छ ।

सिरियाली सरकारले भने यसको कडा प्रतिक्रिया जनाउँदै गम्भीर परिणाम भोग्ने चेतावनी दिएको हो । विमानका पाइलट समेत वेपत्ता रहेको जनाइएको छ । उता रुसी विदेशमन्त्री सर्गेई लाभरोभले सिरियाको सम्प्रभुताको सम्मान गर्न अमेरिकालाई सम्झाएका छन् ।