दम्पत्य जीवनमा बाँधिए क्रिकेटर शरद र अभिनेत्री निशा

राजधानी समाचारदाता
काठमाडौं

राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषवाकरसँग अभिनेत्री निशा अधिकारीले दाम्पत्य सम्बन्ध गाँसेकी छन् । शुक्रबार दिउँसो उनीहरू दाम्पत्य जीवनमा बाँधिएका हुन् । काठमाडौंको पाँचतारे होटलमा यी दुईको विवाह सम्पन्न भएको हो । धेरै चलचित्र अभिनयका क्रममा बेहुली बने पनि वास्तविक जीवनमा शुक्रबार यी अभिनेत्री बेहुली बनेकी हुन् ।

पछिल्लो समय अभिनेत्री निशा चलचित्र ‘पोखराकी कान्छी’ को छायांकनमा व्यस्त थिइन् । उनी दाम्पत्य जीवनमा बाँधिने टुंगो भएपछि बाँकी छायांकन पछि गर्ने भन्दै एक साताअघि निशा छायांकन स्थल चितवनबाट काठमाडौं आएकी थिइन् । अब निशा वैवाहिक समारोहबाट फुर्सद भएपछि बल्ल बाँकी छायांकन सक्ने निर्माण पक्षले जनाएको छ ।
शनिबारको विवाह पूर्ण पारिवारिक थियो । समारोहमा चलचित्रकर्मी र खेलाडीको उपस्थिति न्यून थियो । अभिनेत्रीको विवाह समारोह भए पनि चलेका कलाकारको उपस्थित अत्यन्त न्यून हुनुले यो विवाह पारिवारिक बनेको थियो ।

विवाहका क्रममा अभिनेत्री निशा परम्परागत हिन्दू बेहुलीको भेष (रातो रङको एक्बोडरी वर्क गरिएको सारी, ब्लाउज र घुम्टोमा सजिएकी थिइन् । क्रिकेटर शरद पनि ढाकाको दौरा सुरुवाल र टोपीमा सजिएका थिए । शरदले विवाहको प्रीतिभोज १८ असार साँझ अम्रपाली ब्यांकेटमा राखेका छन् ।

तीन वर्ष अघिदेखि निशा र शरदको प्रेम सुरु भएको थियो । त्यसपछि उनीहरू विभिन्न कार्यक्रममा सँगै सहभागी भएका तस्बिरहरू सञ्चार माध्यममा आएका थिए । सुरुका क्षणमा यी दुईले आफ्नो प्रेम सम्बन्ध गोप्य राख्न चाहे पनि पछि सञ्चारमाध्यमले सार्वजनिक गरेको हो ।

भारतमा अभिनेत्री र क्रिकेटरको प्रेम र विवाहको इतिहास लामो भए पनि नेपालमा क्रिकेट र सिनेमालाई प्रेमबाट शरद र निशाले जोडेका छन् । शुक्रबार दाम्पत्य जीवनमा बाँधिएका शरदले प्रेममा छक्का मारेका छन् । धेरै फिल्ममा प्रेम सम्बन्धपछि बेहुली बने पनि निशा वास्तविक जीवनमा शुक्रबार बेहुली बनेकी हुन् । सिल्भर स्क्रिनको जस्तै वास्तविक जीवनको प्रेम पनि उनको यतिबेला सफल भएको छ ।

शरदको भनाइमा सुरुदेखि नै दुवै एक अर्काका प्रशंसक थिए । सोही क्रममा अभिनेत्री निशाले सगरमाथा आरोहण सम्पन्न गरेपछि उनको सो साहसीबाट आपूm झन् नजिक भएको शरदले सञ्चारकर्मीलाई बताइसकेका छन् । शरदको व्यक्तित्व र सरल स्वभावका कारण आपूm आकर्षित भएको पनि निशाले खुलासा गरिसकेकी छन् ।