एमालेका बागी कारबाहीमा

भैरहवा / रास– स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने र असहयोग गर्नेलाई एमाले रूपन्देहीले कारबाही गरेको छ ।

असार १४ मा सम्पन्न निर्वाचनमा पार्टी हितविपरीत काम गर्ने, पार्टीका आधिकारिक उम्मेदवारलाई हराउने गरी गतिविधि गर्नेलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमालेले जनाएको छ । नेकपा एमाले सिद्धार्थनगर कमिटी सदस्य तथा सिनपा ७ वडा इन्चार्ज शिव घिमिरे र वडा कमिटी अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले पार्टी हितविपरीत काम गरेकाले उनीहरूलाई कारबाही गरिएको एमाले रूपन्देहीका कार्यबाहक अध्यक्ष पुरुषोत्तम घिमिरे जानकारी दिए । टिकट वितरणमा असन्तुष्टि जनाउँदै इन्जार्च घिमिरेले भने पहिले नै पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी

दिएका थिए ।

एमालेले घिमिरेले पार्टीको आधिकारिक उम्मेदवारलाई हराउने गरी स्वतन्त्र उम्मेदवारी दिएको तथा अधिकारीले पार्टीका उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारी दिएकाको पक्षमा प्रचार प्रसार गरेको देखिएकाले पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।

सो वडाबाट एमालेले जिल्ला सचिवालय सदस्य हितराज पन्थीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । पन्थी कांग्रेसका उम्मेदवार मिभसेन कर्माचार्यसँग पराजित भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका घिमिरेले ९६ मत प्राप्त गरेका थिए । पन्थी पराजयका कारण घिमिरेको स्वतन्त्र उम्मेदवारी नै भएको ठहर एमालेको छ । एमालेले निर्वाचानका बेला पार्टी हितविपरीत गतिविधि गर्ने, विपक्षी दलको प्रचार प्रसारमा सहभागी हुनेहरूको जिल्लाभरीबाट नै नाम लिस्ट तयार गरिरहेको र त्यस्ता व्यक्तिलाई पनि तत्काल कारबाही गर्ने गरी आन्तरिक रूपमा तयारी थालेको जनाएको छ ।