स्वच्छ पानी देऊ

स्वच्छ पानी देऊ

 

राजधानीवासीले पिउने पानीमा कोलिफर्म (दिसामा हुने जीवाणु) को जीवाणु भेटिएको तथ्य सार्वजनिक भएको छ । खानेपानी शुद्धता परीक्षणका क्रममा इनार, धारा, ढुंगेधारा, ट्यांकर र जारलगायतका पानीमा कोलिफर्मको जीवाणु रहेको डरलाग्दो तथ्य पत्ता लागेको हो । राजधानीवासीले पिउने झन्डै ६६ प्रतिशत पानीमा यस्तो जीवाणु भेटिनुले जनस्वास्थ्यमाथि चरम लापरबाही भइरहेको तथ्य पनि खुलेको छ । चिकित्सकहरूका अनुसार यस्तो दुषित पानीको प्रयोगले आउँ, हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस ए, जन्डिसजस्ता गम्भीर प्रकृतिका रोगहरू लाग्न सक्छन् । यसरी पिउने पानीमै कोलिफर्मको जीवाणु भेटिएको यो पहिलो घटना भने होइन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धारामा आउने पिउने पानीमा ढल मिसिएको स्पष्टीकरण दिएको छ । यसैगरी पानीको मुहान आसपासमा गाईवस्तु, माछा र सुँगुर पाल्ने गरेकोले पनि पिउने पानी दुषित हुन पुगेको उसको भनाइ छ । जुनसुकै कारणले भए पनि पिउने पानीमै यस्ता जीवाणु भेटिनुलाई सामान्य मान्न सकिँदैन । दैनिक पिउने पानीमा यस्ता कोलिफर्मको जीवाणु फेला पर्नु नागरिकको स्वास्थ्य गम्भीर खतरामा रहेको संकेत हो । यसबाट खानेपानी व्यवस्थापनका लागि अहिलेसम्म गरिएको सम्पूर्ण लगानी, निर्माण गरिएका संरचनाहरूमाथि प्रश्न चिह्न खडा भएको छ । सरकारी तथा गैरसरकारी क्षेत्रले स्थापना गरेका विभिन्न संघसंस्थाको भूमिका, उनीहरूको गतिविधि शंकाको घेरामा परेको छ । त्यस्ता निकायको भूमिकामा गम्भीर लापरबाही वा हेलचेक्र्याइँ छ भन्ने पनि पुष्टि हुन्छ ।

राजधानीका बासिन्दा सबै खालका सुविधाहरू उपभोग गर्न पाउने भाग्यमानीहरू हुन् भन्ने आम धारणा पाइन्छ । हुन पनि शिक्षा, स्वास्थ्य, मनोरञ्जनजस्ता हरेक क्षेत्रका सेवाहरू स्तरीय हुनैपर्छ । ती सेवाहरू उपलब्ध गराउन उच्चस्तरको भौतिक पूर्वाधारको निर्माण गरिनुपर्छ । अनि मात्रै राजधानी साँच्चिकैको राजधानीको स्वरूपमा परिणत हुने हो । तर यसखालका घटनाले आधुनिक सुविधायुक्त महानगरपालिका या राजधानीमा रहने नगरबासीको सपना विपनामा परिणत हुने सम्भावनाले मूर्त रूप लिन सक्दैन ।

देशको करिब आधा करोड जनसंख्या राजधानीमा बसोबास गर्छन् । यो सानो संख्या होइन । स्वच्छ र सफा पानी पाउनु उनीहरूको अधिकार हो । यति ठूलो जनसंख्याले दैनिक प्रयोग गर्ने, पिउने पानी सफा हुर्नैपर्छ । स्वास्थ्यको दृष्टिकोणले उपयुक्त हुनैपर्छ । कुन कारण खानेपानीमा यस्ता जीवाणु भएको पानी वितरण भइरहेको छ, त्यसको वास्तविकता पत्ता लगाउने काम गर्नैपर्छ । सँगसँगै जनस्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी भएको लापरबाहीमा दोषीलाई कडा कारबाही गर्नुपर्छ । कुनै पनि विलम्ब नगरी सरकारले तत्काल यस कामका लागि कदम चाल्न सक्नुपर्छ । अझ स्वच्छ पिउने पानी वितरणका लागि तत्काल योजना बनाएर लाग्नुपर्छ । अनि राजधानीवासीले सतर्कता अपनाउनुपर्ने देखिएको छ । आशा गरौं, राजधानीवासीलाई स्वच्छ सफा पानी उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारले प्रभावकारी कदम तुरन्त चाल्नेछ र संविधानले नै प्रत्याभूत गरेको स्वास्थ्य अधिकारको भावनालाई सम्मान गर्नेछ ।