बालविवाह अन्त्य गर्ने प्रतिबद्धता

राजधानी संवाददाता / बैतडी

बैतडीका नवनिर्वाचित जनप्रतिनिधिहरूले बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । बालविवाहले समाजमा धेरै असर पारेकाले बालविवाह अन्त्यका लागिस्थानीय तहमा कार्ययोजना बनाएर काम गर्ने उनीहरूले बताएका हुन् । बालविवाहका कारण खास गरी महिलाको समग्र जीवनमा प्रभाव पारेको भन्दै जनप्रतिनिधिहरूले बालविवाहविरुद्ध बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्ने पनि बताएका छन् । समाजको सर्वांगीण विकासका लागि बालविवाह बाधक भएकाले आफूहरूले कार्ययोजना बनाएर पुरचौडी नगरपालिकालाई बालविवाहमुक्त बनाउने नगरपालिका उपप्रमुख जानकी ऐर बमले बताइन् ।

पुरचौडी नगरपालिकाभित्रका सबै वडामा रहेका महिला स्वास्थ्य स्वयंसेविका, बाल क्लब र किशोरी समूहलाई परिचालन गरी आगामी ५ वर्षभित्र नमुना नगरपालिका बनाउने उनले बताइन् ।

बालविवाहले महिलाहरूको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रमा निकै असर परेकाले यसको अन्त्यका लागि आफूहरूले नौलो कार्यक्रम सञ्चालन गर्ने दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । बालविवाहका कारण पत्ता लगाई बालविवाह रोक्ने दशरथचन्द नगरपालिका उपप्रमुख मीना चन्दले बताइन् ।

जिल्लाभरिका १० वटै स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख र वडाध्यक्षहरू सहभागी एक कार्यशाला गोष्ठीमा जनप्रतिनिधिहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा निर्वाचित भएका प्रतिनिधि एकै ठाउँमा भेला भई बालविवाह अन्त्यका लागि लाग्ने प्रण गरेका हुन् । बैतडीका साविकका पाँचवटा गाविसमा ३ वर्षपहिले गरिएको एक अध्ययनअनुसार ५९ दशमलव ५ प्रतिशत बालविवाह हुने गरेको छ । बालविवाह गर्ने उच्च दर रहेको देशका पाँच जिल्लामध्ये बैतडी पनि एक हो ।