घरेलु सीपले परिवर्तन

घरेलु सीपले परिवर्तन

प्रदीप न्यौपाने

अनिता मल्ल केसी चाउमिन उद्यमी हुन् । पर्वत जिल्लाको जलजला ७ मा कालीगण्डकी चाउमिन उद्योग सञ्चालन गर्दै आएकी छन् उनले । २०६२ सालमा ५ लाख रुपैयाँ लगानी गरेर सञ्चालन भएको चाउमिन उद्योगको यतिबेला आर्थिक अवस्थामा मात्र सुधार भएको छैन, धौलागिरि अञ्चलमै नमुनायोग्य उद्योगका रूपमा रहेको छ । निरन्तरको मेहनत, लगनशीलता र उपभोक्ताले रुचाएका कारण उद्योगले सफलता पाएको बताउँछिन् उद्यमी अनिता केसी ।
१२ वर्षअगाडि उद्योग पर्वत जिल्लाको सदरमुकाममा भाडाको कोठामा सञ्चालित थियो । हाल सो उद्योग म्याग्दी जिल्लाको सदरमुकाम बेनी जाने सडक बाटोनजिक साढे एक रोपनी क्षेत्रफलमा पर्वत जिल्लामै अवस्थित छ । निरन्तर १२ वर्षको मेहनत र परिश्रमपछि आज उद्योगको आम्दानीबाट अनिताले घरघडेरी मात्र जोडेकी छैनन्, उद्योगबाट उत्पादित सामान ढुवानीका लागि केही सवा™ीसाधन पनि जोडिसकेकी छन् ।
उद्योगमा नौ कामदार छन् भने हाल उद्योगको क्षमता करोड पुगिसकेको छ । धोरै लगानीमा उद्योग सञ्चालन गर्दा धेरै आम्दानी गर्न सकिने गतिलो उदारणका रूपमा उनी परिचित छिन् यतिबेला । उनको उद्योगमा नेपाल सरकारका उच्च अधिकारी, राजनीतिक दलका नेताहरूदेखि विभिन्न जिल्लामा उद्योग व्यवसाय सञ्चालन गरेका उद्यमीहरू आउने गरेका छन् ।

चाउमिन उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ मैदाको पिठो हो । मैदाको पिठो म्याग्दीको बेनीबाट ल्याउने गर्छिन् उद्यमी अनिता । सिन्के, ठूलो र सानो स्टिम गरी तीन प्रकारका चाउमिन उत्पादन गर्दै आएकी छन् अनिताले । उत्पादित चाउमिनको माग पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा रहेको छ ।
चाउमिन उत्पादनका लागि मिक्सर मेसिन, रोल मेसिन र बाँस तथा स्टिलका लौरी तथा पानी आवश्यक पर्दछ । अनिताको उद्योगले सफलता प्राप्त गरेपछि घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतका कार्यालय प्रमुख विण्णुप्रसाद न्यौपानेले अत्याधुनिक मिक्सर मेसिन असारमा हस्तान्तरण गरे । कार्यालयले मेसिन सहयोग गरेपछि त्यसले चाउमिन कटिङ गर्न सहयोग पुग्ने उद्यमी  केसी बताउँछन् ।
अनिताले दुबईमा ड्राइभिङ काम गर्दै आएका आफ्ना श्रीमान् तेजेन्द्रबहादुर केसीलाई नेपाल बोलाएकी छन् । उद्योगले सफलता प्राप्त गरेपछि यतिबेला तेजेन्द्र र अनिता सँगै उद्योगमा काम गर्दै आएका छ । कालीगण्डकी चाउमिन उद्योगबाट सामान उत्पादन गर्न र बजारीकरण गर्न दुवै एकसाथ लागेकाले उद्योगले सफलता लिएको हो । विदेशमा आफूले कमाएको भन्दा श्रीमतीले नेपालमा लघु, घरेलु तथा साना उद्योग अर्थात् चाउमिन उद्योग सञ्चालन गरेर कमाएको आम्दानी धेरै राम्रो रहेको बताउँछन् तेजेन्द्र । सामानको बजारीकरण गर्न हामी दुवै सँगै जाने गरेका छांै, यसले बजारको माग कस्तो छ बुझ्न सजिलो हुने र बजारको मागअनुसार सामान उत्पादन गर्न सजिलो हुने गरेको छ ।

एसएलसी उत्तीर्ण गरेर उद्योग सञ्चालन गरेकी अनिता ३७ वर्षकी हुन् । उद्योग सञ्चालन गरेको १२ वर्षमा उद्योगले सफलता प्राप्त गरेपछि यतिबेला अनिता नाम र दाम दुवै कमाउन सफल भएकी छन् । उद्योग मन्त्रालयले मुलुकभरका सफल उद्यमीलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत अनिता यही ३० असारमा काठमाडौंमा आयोजना हुने कार्यक्रममा सम्मानित भएकी छन् । ‘यो सम्मान मेरो मात्र होइन, मैले उत्पादन गरेको चाउमिनलाई ग्राहकले सहज रूपमा रुचाइदिएकाले आज जिल्लाबाटै उत्कृष्ट उद्यमीका रूपमा सम्मानित हुने अवसर पाएकी छु,’ उद्यमी अनिताले भनिन्, ‘यतिबेला मलाई मूल्यांकन गर्ने घरेलु विकास समिति पर्वतलाई विशेष धन्यवाद दिन्छु ।’ उनले थपिन्, ‘निरन्तरको मेहनत र परिश्रमबाट आज आम्दानी मात्र गर्न सफल भइएको छैन, महिलाले उद्योग सञ्चालन गरेर सफलता पनि लिन्छन् भन्ने सन्देश पनि दिएको छु ।’
पर्वत जिल्लामा सञ्चालित कालिगण्डकी चाउमिन उद्योग सञ्चालन गरेकी उद्यमी अनिता मल्ल केसी यतिबेला सफल उद्यमीका रूपमा परिचित भएको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतका कार्यालय प्रमुख विण्णुप्रसाद न्यौपाने बताउँछन् । ‘यो उद्योग महिलाले एकल रूपमा सञ्चालन गरेर सफलता मिलेको नमुनायोग्य उद्योग हो । यस्ता उद्योगी व्यवसायीलाई प्रवद्र्धन गर्न कार्यालय क्रियाशील रहेको र उद्यमीको कामको मूल्यांकन गरेर उद्योगका लागि आवश्यक पर्ने अत्याधुनिक मिक्सर मेसिन उपलब्ध गराएका छौं,’ कार्यालय प्रमुख  न्यौपानेले भने ।

त्यस्तै युवराज अधिकारी युवा उद्यमी हुन् । तीन वर्षअगाडि पर्वतको सदरमुकाम कुस्मामा कालिगण्डकी साबुन उद्योग सञ्चालन गरेर छोटो समयमा सफलता हात पार्नुभएका अधिकारी उमेरले २२ वर्षीय युवक हुन् । २२ लाख लगानीमा उद्योग सुरु भयो । अहिले उद्योग सञ्चालन भएको तीन वर्ष बित्यो । तीन वर्षमा उद्योगको क्षमता झन्डै १ करोड पुगिसकेको उद्यमी अधिकारी बताउँछन् । उद्योग सञ्चालन गर्न इच्छा शक्ति सबैभन्दा ठूलो कुरा हो, इच्छाशक्ति भए उद्योग सञ्चालन गर्न आवश्यक पर्ने रकमको व्यवस्थापन सहज रूपमा हुने अधिकारीको अनुभव छ । अधिकारीका बुवा शिक्षक थिए । छोराले उद्योग संञलन गर्ने नयाँ योजना ल्याएपछि लगानीको चाँजोपाँजो मात्र मिलाउनुभएन, आफैले खाइरहेको स्थायी शिक्षकबाट राजीनामा दिई छोराले सञ्चालन गरेको उद्योगमा नियमित समय दिएर सहयोग गर्दै आएका छन्, यतिबेला । सानैदेखि समाजमा भिन्न काम गर्ने सोच बनाएका उद्यमी अधिकारीका अनुसार विदेशमा जाने लगानीलाई स्वदेशमै प्रयोग गर्दा धेरै परिवर्तन गर्दै रोजगारीको अवसर प्रदान गर्न सकिनेछ । काठमाडौंको एक निजी विद्यालयबाट एसएलसी र १० जोड २ मा राम्रो अंक ल्याएका अधिकारीका सहपाठीहरू कोही विदेशमा उच्च शिक्षा अध्ययन गर्न गएका छन् र केही कुलतमा फसेका छन् । तर मैले स्थानीय स्तरमै उद्योग सञ्चालन गरेर रोजगारी मात्र दिएको छैन, युवाहरूका लागि ‘आइसब्रेक’ गर्दै उदारणका रूपमा प्रस्तुत हुनुभएको छ यतिबेला अधिकारी ।

‘बुबा र आमाको इच्छा डाक्टर, इन्जिनियर बनाउने थियो । समाजमा फरक पहिचानका साथ सफल उद्यमीका रूपमा प्रस्तुति हुने र स्थानीय व्यक्तिलाई रोजगारीको अवसर दिने इच्छा थियो । आज सफल भएको छु । यसमा म मात्र होइन, मेरा बुबा र आमा पनि,’ उनी भन्छन् । हीरा खोज्न टाढा जान पर्दैन, आफ्नै घरआँगनमा छ भन्ने गतिलो उदाहरणका रूपमा यतिबेला २२ वर्षे पर्वतका युवराज अधिकारीले काम गरेर प्रमाणित गरेका छन् । अधिकारीले उत्पादन गरेका सावुनको माग पर्वत, बाग्लुङ, कुस्मा, पोखरा, तनहुँ, स्याङ्जा र काठमाडौंसम्म रहेको छ । उद्योगले सफलता लिएपछि सामान ढुवानीका लागि एक मिनी ट्रक पनि रहेको छ अधिकारीको उद्योगमा ।
घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय पर्वतबाट उत्पादित साबुनको बजार प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेलेको छ । उद्योगका लागि आवश्यक पर्ने एक प्रविधि अर्थात् साबुन काट्ने उपकरण प्रदान गरेको कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सीप सिकेर सिर्जनशील हँुदै उद्योग सञ्चालन गर्दा सहज रूपमा सफलता प्राप्त गर्नुभएकी उद्यमी अनिता केसी, युवराज अधिकारीबाट उद्यमी बन्न चाहनेका लागि गतिलो सन्देश बनेको छ ।
जोकोही पनि आफूमा सीप छैन भनेर निराश बनेर बस्ने अवस्था छैन । घरेलुबाट तालिम लिएर आयआर्जन गर्दै आत्मनिर्भर र स्वावलम्वी बन्ने कार्यमा एक पटक जुट्न आवश्यक देखिन्छ । हाम्रो देश नेपालमा मेहनत गर्दा सहज रूपमा आफ्नै घरगाउँमा सुन फलाउन सकिने गतिलो उदारणका रूपमा उद्यमी केसी र अधिकारीवाट सिक्न आवश्यक छ ।

पछिल्लो समयमा घरेलु तथा साना उद्योग विकास समितिले दिएका तालिमबाट सीप नहुनेका लागि सीप मात्र प्रदान गरेको छैन, उनीहरूको जीवनमा समेत ठूलै परिवर्तन गरिदिएका प्रशस्तै उदारण छन् । यसै क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–५ तार्कुटारका बुद्धिबहादुर विश्वकर्मा रोजगारीका लागि विदेश जाने तयारीमा थिए । तर घरेलु तथा साना उद्योग विकास समितिले दिएको सीपमूलक तालिमले गर्दा विदेश जाने सपना छोडे विश्वकर्माले । घर निर्माणको ठेक्का लिएका मानबहादुर घर्तिसँगै बुद्धिबहादुरले काम गर्न थालेपछि विदेश जाने योजनालाई छाडी घर निर्माणको ठेक्का लिएर काममा जुटेका छन् । हातमा सीप नहुँदा ज्याला कम थियो । सीप भएपछि ज्यालामा दोब्बर वृद्धि भएको छ । सीपमा मात्र होइन, काममा समेत फेरबदल आएको छ । तालिमले जीवन नै परिवर्तन गरिदिएको भोगाइ छ बुद्धिबहादुरसँग ।
पढ्न छाडेर घरमा बसेकी तार्कुटारकी १८ वर्षीया सिर्जना कुँवरलाई पनि अहिले कामको चिन्ता छैन । डकर्मी तालिम लिएपछि उनी पनि घर निर्माण कार्यमा सक्रियताका साथ लागिरहेकी छन् । ‘गाउँकै दाइहरूसँग घर बनाउन हिँडेको छु । गारो लगाउन, प्लास्टर गर्न सक्षम छु । अब नपढेर के भयो र, घरेलुको तालिमले मलाई आम्दानी गर्ने बाटो देखाईदिएको,’ सृजना बताउँछिन् ।

२०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका घर, भवन पुनर्निर्माण गर्न दक्ष जनशक्तिको अभाव रहदा घरेलु तथा साना उद्योग विकास समितिद्वारा सञ्चालित सीप विकास तालिम निकै प्रभावकारी बनेका छन् । समितिद्वारा २१ जिल्लामा डकर्मी, सिकर्मी, प्लम्बिङग र हाउस वायरिङ तालिम २ हजार ५ सय ९५ ले लिएका छन् । तालिम लिएकामध्ये झन्डै ७५ प्रतिशत पुनर्निर्माण र नवनिर्माणको कार्यमा सक्रियताका साथ जुटेका घरेलु तथा साना उद्योग विकास समितिका प्रवक्ता तथा उपकार्यकारी निर्देशक राजेन्द्र मिश्र बताउँछन् । ‘समितिद्वारा सञ्चालन भएका तालिमबाट धेरैले रोजगारीको अवसर प्राप्त गर्नुका साथै आवश्यकताअनुसार अनुदानमा प्रविधि प्राप्त गरेका छन्,’ उपकार्यकारी निर्देशक मिश्रले भने ।
लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्न कुनै समस्या हुँदैन । उद्योग गर्न वा सीप सिक्न चाहने व्यक्तिलाई घरेलु तथा साना उद्योग विकास समितिले माग अनुसारको तालिम र आवश्यकता पहिचान गरी अनुदानमा प्रविधि हस्तान्तरण गर्दै आएको छ । मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको लघु, घरेलु तथा साना उद्योगहरूको विकास र विस्तार आजको अपरिहार्य आवश्यकता रहेकाले उपलब्ध स्थानिय स्रोतसाधनको परिचालन तथा रोजगार सिर्जना गर्ने उद्देश्यका साथ कार्यक्रमहरू अगाडि बढिरहेका छन् ।

साना र कुटिल उद्योग सञ्चालनका लागि केवल सीप र इच्छाशक्ति भने आवश्यक पर्छ । सीपबिना सञ्चालन भएका उद्योग दीर्घकालीन रूपमा टिक्न सक्दैनन् । उद्योग सञ्चालन गर्नअगावै आफूले कुन उद्योग सञ्चालन गर्ने भन्ने योजनाका साथ सिप सिक्न आवश्यक हुन्छ । त्यति मात्र होइन, सपिसँगै प्रविधि आवश्यक भए त्यस्ता उद्यमीको माग र चाहनाअनुरूप नै प्रविधि अनुदानमा सरकारी स्तरबटै पाउन सकिन्छ ।