डीडीसीको नाफा खुम्चियो

राजधानी समाचारदाता / काठमाडौं

सरकारको पूर्ण स्वामित्वमा रहेर दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्दै आएको दुग्ध विकास संस्थानको (डीडीसी) नाफा ६४ लाखमा खुम्चिएको छ । आर्थिक वर्ष २०७२÷७३मा कुल साढे १३ करोड नाफामा रहेको डीडीसीको आर्थिक वर्ष २०७३÷७४ को ८ महिनाको नाफा भने ६४ लाखमा खुम्चिएको हो ।

आर्थिक वर्ष २०७२÷७३ मा कुल १३ करोड ५५ लाख २४ हजार नाफा कमाउन सफल भएको डीडीसी सो आवको तुलनामा २०७३÷७४ को ८ महिनामा भने एकदमै न्यून नाफामा खुम्चिएको डीडीसीले जानकारी दिएको छ । डीडीसीको ४९औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७३÷७४ मा संस्थानको नाफा खुम्चिएको जानकारी दिइएको हो । संस्थानमा कर्मचारी समायोजन, कर्मचारी भर्नालगायतका कारणले यस वर्षको सो अवधिमा संस्थानको नाफा कम हुन गएको डीडीसीले जनाएको छ ।

त्यस्तै विगत तीन वर्षदेखि संस्थानले दूध तथा दुग्धजन्य पदार्थको मूल्यमा एक रुपैयाँ पनि वृद्धि नगरेको र अन्य पूर्वाधारहरूको खर्च बढी तिर्नुपर्ने भएकाले पनि संस्थानको नाफा खुम्चिएको संस्थानको गुनासो रहेको छ । त्यसैगरी कार्यक्रममा सहभागी दूध उत्पादक किसानहरूले तीन वर्षदेखि दूधको मूल्य नबढेकाले आपूmहरू मारमा परेको बताएका छन् । नेपाल डेरी एसोसिएसनका प्रतिनिधि अर्निकोराज भण्डारीले भूकम्प, नाकाबन्दी जस्ता महाविपद्का बेला समेत पूर्वाधारमा बढी खर्च गर्नुपरेको तर दूधको मूल्य विगत तीन वर्षदेखि बढ्न नसकेको भन्दै दूधको मूल्य वृद्धि गर्न माग गरे । उनले अन्य क्षेत्रमा जस्तै रक्सी, चुरोट आदि लगायतका अन्य दैनिक उपभोग्य समानमा निरन्तर मूल्य बढिरहेको तर दूधको मूल्य बढ्न नसक्दा किसानहरू मारमा परेको भन्दै दूधको मूल्य बढाइनुपर्ने माग गरे । उनले नाकाबन्दीका बेला साढे ३ सय रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल किनेर पनि आपूmहरूले बजारमा दूध अभाव हुन नदिएको सम्झाए ।

त्यसैगरी कार्यक्रममा बोल्दै पशुपालक तथा दुग्ध उत्पादक संघका अध्यक्ष आनन्द निउरेले करोडौं आम्दानी गर्ने विभिन्न व्यापारी तथा उद्योगीका माग सरकारले पनि सजिलै सम्बोधन गर्ने तर दिनभरि १० लिटर दूध बिक्री गरेर एक छाक खान नपुग्ने किसानका कुरा सुन्न पनि नमान्ने गर्ने गरेको बताए । किसानलाई दिनभरि दूध बेचेर बेलुका एक छाक खाना खान पनि धौधौ रहेकाले सम्बन्धित निकायले किसानका समस्या बुझिदिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाले दूधको मूल्य बढाउने भन्दा पनि सम्बन्धित निकायले दूधको मुल्य समायोजन गर्नुपर्ने धारणा राखे । उनले किसानको हित, उपभोक्ताको हित र उद्योगको हित हेरेर दूध तथा दुग्धजन्य पदार्थको मूल्य समायोजन हुनुपर्ने बताए । किसानले दूधको उचित मूल्य नपाएसम्म सरकारले दूधमा आत्मनिर्भर हुने हावादारी मात्रै भएको उनको भनाइ छ ।

कार्यक्रममा उपस्थित उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले उपभोक्तालाई मार्का पर्ने गरेर दूध तथा दुग्धजन्य पदार्थको मूल्य नबढाउन आग्रह गरे । कार्यक्रममा उपस्थित पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले सबै क्षेत्रमा मूल्य वृद्धि भइरहेका बेला दूधको मूल्यमा मात्रै हेरफेर नगर्दा किसाानहरूप्रति अन्याय हुने भएकाले उत्पादक किसान, दाना, उद्योगी सबैको हित हुने गरेर दूध तथा दुग्धजन्य पदार्थको मूल्य समायोजन गरिने बताए