अदुवा निकासी रोकियो

हेटौंडा / रास– भारतले नेपालमा उत्पादन भएको अदुवा लिन छाडेपछि किसान र व्यवसायी मारमा परेका छन् । भारतले नेपालमा उत्पादन भएको अदुवा आयातमा रोक लगाएपछि मकवानपुरका अदुवा किसान र व्यवसायी समस्यामा पर्न थालेका हुन् । लामो समयदेखि अदुवाको भन्सार नखुल्दा मकवानपुरमा उत्पादित अदुवा कुहिने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् ।

भारतले रोक लगाएपछि किसानले उत्पादित अदुवा बिक्री गर्न पाएका छैनन् । गत वर्ष अदुवाको मूल्य प्रतिकेजी ८० देखि एक सयसम्ममा किसानले व्यवसायीलाई बिक्री गरेका थिए । तर यस वर्ष प्रतिकेजी २० देखि २५ रुपैंयाँमा अदुवा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानको गुनासो छ । प्रत्येक वर्ष ५ देखि ८ हजार मेट्रिक टन अदुवा भारत निकासी गर्दै आएका मकवानपुरका किसानले यो वर्ष अदुवा निकासी गर्न पाएका छैनन् ।

करिब १५ दिनदेखिको अदुवाको भन्सार बन्दका कारण गोदाममा रहेको अदुवासमेत कुहिन थालेको मकवानपुरका अदुवा व्यापारी अर्जुनप्रसाद लम्सालले बताए ।

नेपाल अदुवा व्यवसायी संघका केन्द्रीय सदस्य गोपालप्रसाद गौतमले अदुवा कमसल भएकाले यसलाई लामो समय राख्न नसकिने र बिक्री गरिहाल्नुपर्ने बताए । मकवानपुरमा अदुवा व्यवस्थापनका लागि आवश्यक उपकरण नभएको समेत उनले जानकारी दिए ।

भारतले अदुवा किन्न छाडेपछि किसान र व्यवसायी अन्योलमा छन् । उनले सरकारले अदुवा निकासीको वातावरण बनाइदिन माग गरेका छन् ।